थिमि स्वावलम्बनको खुद नाफा १ करोड ५५ लाख

भक्तपुर, असोज १३
मध्यपुर थिमि नगरपालिका–६ चपाचोस्थित थिमि स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५५ लाख ७० हजार ४ सय रुपैंया खुद नाफा गरेको छ । संस्थाको शनिवार सम्पन्न १७ औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष दिलकृष्ण प्रजापतिले वार्षिक आर्थिक प्रतिवेदन पेश गर्दै सो जानकारी दिनुभएको हो ।
कोषाध्यक्ष प्रजापतिले ‘वचतले हाम्रो भविश्य सुखी बनाउँछ’ भन्ने नारालाई सार्थक बनाउन संस्थाले सहकारीका सिद्धान्त र मूल्यमान्यतालाई सदैव आत्मसाथ गर्दै आइरहेको बताउनुभयो ।
सभामा संस्थाका सचिव विनोद प्रजापतिले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गर्दै सहकारीका नीति सिद्धान्त अनुसार सञ्चालित थिमि स्वावलम्बन सहकारीले सहकारी अभियानलाई अघि बढाएको बताउनुभयो ।
सभामा वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापतिले वडाले गरेका सरसफाई, विकास निर्माणबारे जानकारी दिदैं सबैको साथ, सहयोग अनि सल्लाह र सुझाव अनुसार आफूहरुले कार्य गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न जिल्ला वचत संघ भक्तपुरका कोषाध्यक्ष कान्छाभक्त घजु, मध्यपुर थिमि नपा सहकारी शाखा प्रमुख अभयेन्द्र रञ्जित, विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापति लगायतले सहकारी क्षेत्रको पछिल्लो अवस्थाको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा चपाचो बाँसुरी खललाई नगद रु.१५ हजार सहित सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट वचतकर्ता र असल ऋणिलाई पनि सम्मान गरिएको थियो ।