ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व हो – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, असोज १३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नुको सबैको दायित्व भएको बताउनुभएको छ । मध्यपुर थिमि–६, बहाखाबजारस्थित भिमसेन मन्दिरसँगैंको बारा पुखु (पोखरी) तथा बुंगा (कुवा) पुनर्निर्माण सम्पन्न भएको अवसरमा शनिवार आयोजित कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मौलिक एवम् ऐतिहासिक सम्पदाहरु हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्ने दायित्व पनि हामी सबैको भएको बताउनुभएको हो ।
उहाँले यहाँको सम्पदाहरुको प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनको विकासका लागि मध्यपुर महोत्सव आयोजन गर्न लागिएको जानकारी दिँदैं पर्यटनलाई यहाँको नागरिकको आय आर्जनसँग जोडेर लैजाने नगरपालिकाको योजना रहेको बताउनुभयो ।
बहाखाबजारस्थित उक्त सम्पदाहरु पुनर्निर्माणका लागि नगरपालिकाले २२ लाख रुपैंया आर्थिक सहयोग गरेको थियो भने बाँकी रकम स्थानीय समाजसेवीहरुले सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष महेश कारञ्जितले बताउनुभयो ।


नगरप्रमुख श्रेष्ठले ५० हजार भन्दा बढि आर्थिक सहयोग गर्ने दातालाई दोसल्ला सहित चाँदीको फ्रेम भएको प्रमाणपत्रद्धारा विशेष सम्मान गर्नुभएको थियो । त्यसैगरी ५ हजार रुपैंयाँदेखी माथि सहयोग गर्ने करिव एक सय जनालाई पनि प्रशंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमि भौगोलिक हिसावले सानो नगरपालिका भएपनि कला सँस्कृति र सम्पदामा धनी पालिका भएको बताउनुभयो ।
स्थानीय समाजसेवी जीपकृष्ण चित्रकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, पूर्व उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ६ का वडाअध्यक्ष ज्ञानदास प्रजापति, महिला वडासदस्य अरुणा कारञ्जीत लगायतले परम्परागत, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरुको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राजेश कारञ्जित, सुर्जेलक्ष्मी श्रेष्ठलगायत पुखुः र बुंगा पुनर्निर्माणका विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।