भक्तपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

भक्तपुर, असोज ११
भक्तपुर प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रवार नेपालीहरुको मूख्य चाडपर्वहरु बडादशैँ, तिहार र छठ पर्वका बेला हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा योजना सार्वजनिक गरेको हो ।
सुरक्षा योजनाको उद्देश्य
चाडपर्व लक्षित सुरक्षा योजनाको मूख्य उद्देश्य २०८१ सालको बडादशै, तिहार, तथा छठ पर्व लगायतका चाडपर्व अवधिभर कुनै पनि प्रकृतिका अपराधिक गतिविधि एवं अप्रिय घटनाहरु हुन नदिई जिल्लाको समग्र शान्ति सुरक्षालाई व्यवस्थित तथा भरपर्दो बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराई सौहार्दपूर्ण वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउने रहेको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहनमणी अधिकारीले बताउनुभयो ।
जिल्लाको सुरक्षा चुनौती
भक्तपुर क्षेत्रफलको हिसावले सानो जिल्ला भएपनि यहाँको जनघनत्व, विविध साँस्कृतिक परिवेशका कारण विविध खाले सुरक्षा चुनौती रहेको प्रनाउ अधिकारीले बताउनुभयो । उहाँले भक्तपुरमा मादक पदार्थ तथा लागूऔषध सेवनबाट सृजित अन्य अपराध, झै झगडा एवं होहल्ला गरी शान्ति सुरक्षामा असर पुग्ने खालको उच्श्रृंखल क्रियाकलापहरु हुन सक्ने चुनौती रहेको बताउनुभयो ।
यसैगरी चोरी, विभिन्न बैंकहरुको एटिएम फुटाई चोरी, डकैती, लुटपाट, चेन स्न्याचिङ, बगलीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई ठगी तथा ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत समेत हुने ठगी, चन्दा असुली, जुवातास लगायतका अपराधहरु बढ्न सक्ने, विभिन्न हातहतियारको प्रयोग समेत गरी अपराधिक घटना घटाउन सक्ने खतरा रहेको छ ।
मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी चलाउने, तिब्र गति, ओभरलोड लगायतका अन्य ट्राफिक नियम समेत उलंघन गरी सवारी चलाउदा दुर्घटनाका घटनाहरु बढ्न सक्ने, सार्वजनिक यातायातमा बढी भाडा असुली, यात्रुहरुसँग दुव्र्यवहार एवं ठगी गर्न सक्ने चुनौती रहेको छ ।
यसैगरी आतिस बाजी, पटका लगायतका विविध विष्फोटक पदार्थहरुको ओसारपसार तथा विक्रिवितरण हुन सक्ने तथा पटका पड्काई आगलागीका घटना घट्न सक्ने कारण मानवीय तथा आर्थिक क्षती हुन सक्ने, दैनिक आपुर्तिका सामानहरुको कालोबजारी बढ्न सक्नेलगायतका अपराधिक घटना हुन सक्ने आंकलन गरिएको प्रनाउ अधिकारीले बताउनुभयो ।
सुरक्षा योजना अनुसार सम्पादन गरिने मूख्य कार्य
सुरक्षा योजना अनुसार जिल्लाको सुरक्षा व्यवस्थाका लागि ६१७ जना प्रहरी परिचालन गरिने प्रनाउ अधिकारीले बताउनुभयो । उहाँका अनुसार चाडपर्वमा हुन सक्ने अपराध रोकथामको लागि जनचेतनामुलक जिङ्गल बजाउने, विभिन्न मठ मन्दिर, शक्तिपिठ, जात्रा निस्कने स्थानहरुमा हुन सक्ने अवैध घरेलु मदिरा तथा लागू औषध ओसारपसार तथा विक्रि वितरणलाई न्यूनिकरण गर्न प्रभावकारी प्रहरी परिचालन गरिने छ ।
यसैगरी चोरी, डकैती, लुटपाट, चेन स्न्याचिङ, बगलीमारा, नक्कली सुन तथा डलर लगायत विविध सामाग्री देखाई तथा ईन्टरनेट, सामाजिक सञ्जाल मार्फत समेत हुने ठगी, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न सूचना संकलन तथा विश्लेषण गरी पिकेटिङ, नियमित चेकिङ, आकस्मिक चेकिङ, आकस्मिक तथा विस्तृत खानतलासी, क्यूआरटी, पैदल तथा सवारी साधनबाट गस्ती बढाईने छ ।
आम नागरिकहरुसँग समन्वय तथा सहकार्य गर्ने, ट्राफिकसँग सहकार्य गरि बढी सवारी दुर्घटना हुने समय, स्थानहरुको पहिचान गरी मा.प.से., ओभरस्पिड तथा ओभरलोडलाई लक्षित गरि नियमित तथा आकस्मिक चेकिङ प्रभावकारी बनाईने प्रनाउ अधिकारीले बताउनुभयो ।
यस्तै बसपार्क, सवारी चाप बढी हुने स्थानहरु टिकट बुकिङ काउन्टरहरुमा यातायात व्यवसायी, ट्राफिक प्रहरीसहितको प्रहरी संयुक्त हेल्प डेस्क राख्ने र यात्रुहरु ठगिन सक्ने कुरालाई ध्यानमा राखी निगरानी बढाईनेछ ।
पटका भण्डारण, ओसारपसार तथा विक्रिवितरण गर्नेलाई कानूनी दायरामा ल्याई कारवाही गर्ने, कालोबजारी नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायहरुसँग समन्वय गरी सूचना संकलन समेत गरी निरन्तर बजार अनुगमन गर्ने, सिसि क्यामरा निगरानीलाई प्रभावकारी बनाई अपराध नियन्त्रण तथा रोकथाममा प्रयोग गर्ने, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गरी आमनागरिकमा सचेतनाको अभिबृद्धि गर्ने योजना रहेको प्रनाउ अधिकारीले जानकारी दिनुभयो ।
उहाँले जनचेतना अभिबृद्धिका लागि १० हजार पर्चा पम्प्लेट छापेर वितरण गरिनेछ भने मध्यपुर थिमि १, लोहकिल्थली र जगाती चोकमा गरी २ वटा यात्रु सहायता कक्ष स्थापना गरिनेछ ।
सवारी साधनमा पाकेटमारी नियन्त्रणका लागि सेफ्टी पिन प्रहरी परिचालन, शक्तिपिठ तथा मन्दिरहरुमा दर्शनार्थीहरुको सुरक्षा डिउटी, महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षा डिउटी व्यवस्था मिलाउने र उपत्यका प्रवेश नाकामा जाँच गरिने छ ।
जिल्लाका सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजि आवास, व्यापारिक स्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल बढ्दै गईरहेको सन्दर्भमा जनताले भयरहित वातावरणमा अपराध मुक्त चाडपर्व सुरक्षित तथा हर्षोल्लास तवरबाट मनाउनका साथै सम्भावित चोरी, डकैती, लुटपाट, पाकेटमार अपहरण जस्ता विविध शान्ति सुरक्षासँग जोडिएका अपराधलाई नियन्त्रण गरि आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिएको प्रनाउ अधिकारीले बताउनुभयो ।
उहाँले जनस्तरसम्म सचेतना कार्यक्रम, २४ सैं घण्टा प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाईन्ट, पिकेट, सरप्राईज चेकिङ्गको लागि यस परिसर तथा मातहत प्रहरी ईकाईहरुमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी अपराधिक घटना नियन्त्रण गरी आमनागरिकलाई भयरहित वातावरणमा चाडपर्व मनाउने वातारवण निर्माण गर्ने योजना रहेको बताउनुभयो ।