जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा मध्यपुर थिमि प्रथम

भक्तपुर, असोज ८
मध्यपुर थिमि नगरपालिका आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमको सूचांकको आधारमा गरिएको मूल्यांकनमा प्रथम भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आयोजित वार्षिक समिक्षा गोष्ठी एवम् योजना तर्जुमा कार्यक्रमका अवसरमा गरिएको मूल्यांकनमा मध्यपुर थिमि प्रथम भएको हो ।
जनस्वास्थ्य कार्यालयले जिल्लाभरीका पालिकाको स्वास्थ्य शाखा, सरकारी अस्पताल, नीजि अस्पताल एवम् स्वास्थ्य केन्द्रको वार्षिक प्रगती वितरण मूल्यांकन गर्ने क्रममा मध्यपुर थिमि नगरपालिकाको स्वास्थ्य शाखा प्रथम भएको हो ।


जनस्वास्थ्य कार्यालयले सोमवार र मंगलवार गरी दुई दिन वार्षिक प्रगती समिक्षा तथा योजना तर्जुमा गोष्ठी आयोजना गरेको थियो । सोही गोष्ठीमा जिल्लाका चार वटा पालिकाको स्वास्थ्य शाखा, नगर अस्पताल, स्वास्थ्य चौंकी, नीजि स्वास्थ्य संस्था एवम् अस्पताल र सरकारी अस्पतालले प्रगती विवरण पेश गरेका थिए ।
सो प्रगती विवरण आधारमा गरिएको मूल्यांकनमा मध्यपुर थिमिको स्वास्थ्य शाखा प्रथम भएको जनस्वास्थ्य कार्यालयका प्रमुख शान्तिराम खतिवडाले बताउनुभयो । समिक्षामा भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिका संयुक्तरुपमा द्धितिय भएको खतिवडाले जानकारी दिनुभयो ।