एएफसी यू–२० एसियन कप छनोट ः समीरको ह्याट्रिकमा नेपालको जित

भक्तपुर, असोज ७
समीर तामाङको ह्याट्रिक मदतमा नेपालले एएफसी यु–२० एसियन कप छनोटमा सोमवार घरेलु टोली चाइनिज ताइपेइलाई ३–१ ले पराजित गरेको छ । समूह बी मा नेपालको यो पहिलो जित हो । नेपालले दुई खेलबाट ३ अंक जोडेको छ ।
न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा भएको खेलमा ३२औं मिनेटमै समिरले गोल गर्दै नेपाललाई सुरवाती अग्रता दिलाएका थिए । समिरले अर्को गोल ३५ औं मिनेटमा गरे । पहिलो हाफको इन्जुरी समयमा चाइनिज ताइपेइका योगं चो जिङले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । समिरले ८४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
प्रतियोगितामा समीरले दुई खेलबाट ४ गोल गरिसकेका छ्न् । उनले यसअघि कम्बोडिया विरुद्ध पराजित भएको खेलमा पनि एक गोल गरेका थिए ।
उज्वेकिस्तानले सोमबारै भएको खेलमा कम्बोडियालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह बी मा उज्वेकिस्तान, बहराइन, नेपाल र कम्बोडियाको समान ३ अंक छ । गोल अन्तरका आधारमा उज्वेकिस्तान समूहको शीर्ष स्थानमा छ भने बहराइन दोस्रो स्थानमा छ । नेपाल तेस्रो स्थानमा छ ।
नेपालले समूहको आफ्नो तेस्रो खेलमा बुधबार उज्वेकिस्तानको सामना गर्नेछ । यस्तै नेपालले समूहको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।
एसियाको ४५ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर छनोट प्रतियोगिता खेलाइएको छ । हरेक समूहको समूह विजेता २०२५ मा चीनमा हुने एएफसी यू २० एसियन कपका लागि सिधै छनोट हुनेछन् ।
यस्तै उपविजेतामध्ये उत्कृष्ट ५ उपविजेता टोलीले पनि एएफसी यू २० एसिया कपमा स्थान बनाउनेछन् । चीन आयोजकको रुपमा सिधै छनोट भइसकेको छ ।