मध्यपुर थिमिमा गत वर्ष ५ हजार मिटर सडक कालोपत्रे र ढलान सम्पन्न

भक्तपुर, असोज ५
मध्यपुर थिमि नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा पूर्वाधार विकासतर्फ ५ हजार १५९ मिटर सडक कालोपत्रे र ढलान भएको छ । नगरपालिकाको शनिवार आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा सो जानकारी दिईएको हो ।
यसैगरी नगरपालिकाले गतवर्ष एक हजार ५०२ मिटर ढुंगा छपाई, २ हजार ५० मिटर सडक ग्राभेल, ब्लक छपाई १९६ मिटर, बाटो सिमांकन ४५ स्थानमा र ५ स्थानमा कल ५ रोपनी ८ आना पर्ती जग्गा संरक्षण गरेको छ ।
खानेपानी तथा सरसफाईतर्फ पाइप लाइन बिस्तार गरी थप २६५ घरधुरीमा पानी वितरण गरिएको छ । सार्वजनिक शौचालय दुई वटा निर्माण गर्नुका साथै २ हजार ९३० मिटर ढल बिस्तार गरिएको छ ।
सार्वजनिक भवनतर्फ १५ वटा सामुदायिक भवन, १३ वटा पार्क, ४ वटा ज्येष्ठ नागरिक भवन, बस बिसौनी २, सत्तल÷पाटी २, केन्द्रीकृत भान्छाघर एक वटा निर्माण गरिएको छ ।
यसैगरी पर्यटन, साँस्कृतिक, ऐतिहासिक एवम् धार्मिक महत्वका सम्पदाहरु मध्ये ५ वटा धार्मिक स्मारक र पुरातात्विकको जिर्णोद्धार गरिएको छ भने ११ वटा पाटी, ४ वटा पोखरी, एउटा हिटी, ४ वटा मन्दिर, २ वटा इनार, बिस्काः जात्रामा जात्रा गर्ने विभिन्न देवी देवताका ४ वटा खट, २ वटा विहार, मसानघाट एउटा र क्रियापुत्री भवन एक वटा निर्माण गरिएको छ ।
सार्वजनिक पूर्वाधार भवनतर्फ विद्यालय भवन २ वटा, स्वास्थ्य चौकी एउटा, शिशुस्हार केन्द्र एउटा, खेलकद मैदान एउटा, मनोरञ्जन पार्क २ वटा निर्माण गरेको नगरपालिकाका योजना महाशाखा प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो ।
यसैगरी मध्यपुर थिमि नगरपालिकामा गत आर्थिक वर्ष ४१८ वटा घर नक्सा दर्ता भएका छन भने डिपिसीसम्म ३१५ वटा र डिपिसी भन्दा माथि निर्माणका लागि ३८९ वटालाई स्विकृती दिएको छ ।
घरनक्सा नामसारीका लागि १६४ वटा आवेदन परेकोमा १६३ वटा फस्र्यौट गरिएको छ । घर निर्माण सम्पन्न प्रमाणपत्रका लागि ५०२ वटा निवेदन दर्ता भएकोमा ४३४ वटा स्विकृत गरिएको छ ।
नगरपालिकाले गतवर्ष टोल बस्तीको मौलिक नाम संकलन, अभिलेखीकरण तथा प्रतिस्थापन, शंखधर चोकको भा फल्चा परिसर सुधार, उपभोक्ता समिति गठन गरी गुरु योजना अनुसार शंखधर पार्क निर्माण, थिमि लायकु दरवार मूल ढोका निर्माण, धपहिटी परिसर सुधार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको भौतिक पूर्वाधार विकास, एकीकृत जग्गा विकास कार्यक्रमको ८ स्थानको विस्तृत सम्भाव्यता अध्ययन, दुनेगः पहिरो नियन्त्रण, कुन्डोल हाडोल, ब्राइटर हनुमन्ते सडक सिमांकन तथा स्तरोन्नतीलाई उपलब्धीको रुपमा लिएको छ ।
यसैगरी लोहकिल्थली वडा कार्यालय – धपहिटी – महेन्द्र आ. वि. सडक सिमांकन तथा स्तरोन्नती, निलवाराही चक्रपथ, पंगु देखि यमा सम्म ढुंगा छपाई, धुंची मधुचोक राजकुलो सिमांकन, विष्णुकुन्डोल सार्वजनिक जग्गा सिमांकन, भाँगु पहिरो नियन्त्रण, कुन्डोलभगवती – खरिबोट बाटो सिमांकन तथा स्तरोन्नती, बुद्धविहार पश्चिम पहिरो नियन्त्रण, सार्वजनिक विद्यालयका विद्यार्थीहरुका लागि केन्द्रीय चमेना गृह निर्माणको थालनीलाई पनि नगरपालिकाले उपलब्धीको रुपमा लिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।