विज्ञान प्रदर्शनीमा आदर्श मावि सानोथिमि प्रथम (फोटो फिचरसहित)

भक्तपुर, असोज ४
मध्यपुर थिमि नगरस्तरीय तेस्रो अन्तर विद्यालय विज्ञान प्रदर्शनी प्रतियोगितामा आदर्श माध्यामिक विद्यालय सानोथिमि प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको शिक्षा शाखाले शुक्रवार आयोजित प्रतियोगितामा सामूदायिक विद्यालय आदर्शले प्रथम स्थान हासिल गरेको हो ।
यसैगरी प्रतियोगितामा जनप्रेमी वल्र्ड स्कुल कौशलटार दोस्रो भएको छ । गतवर्ष जनप्रेमी प्रथम भएको थियो । ग्लाडस्टोन एकेडेमी मिलरोडले तेस्रो स्थान हासिल गरेको प्रतियोगितामा महेन्द्र मावि सानोथिमि र कौशलटार ईं स्कुल सागबारीले सान्त्वना पुरस्कार प्राप्त गरेको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले जानकारी दिनुभयो ।


प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई पुरस्कृत गर्दै शिक्षा समितिका संयोजक एवम् मध्यपुर थिमि वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले प्रदर्शनीले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने मौका प्राप्त गरेको बताउनुभयो ।
उहाँले सैद्धान्तिक रुपमा किताबमा बढेको विषयलाई व्यवहारमा उतार्न सक्नु नै विद्यार्थीहरुको उत्कृष्ट प्रतिभा भएको बताउनुभयो । उहाँले प्रतियोगितालाई प्रत्येक वर्ष निरन्तरता दिने जानकारी गराउँदैं भविष्यमा अझ उत्कृष्ट नमूना प्रदर्शन गर्न सुझाव दिनुभयो ।