शिक्षा दिवसमा मध्यपुर थिमिका विद्यार्थी, शिक्षक सम्मानीत, नृत्य प्रतियोगितामा त्रिस्टार प्रथम

भक्तपुर, असोज ३
राष्ट्रिय शिक्षा दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा वडा नं. १ को त्रिस्टार ईङ्गलिस स्कुल प्रथम भएको छ । नगरपालिकाले मंगलवार आयोजित उक्त प्रतियोगितामा वडा नं. १ कै युनिक नेपाल एकेडेमी द्धितिय भएको छ ।
प्रतियोगितामा तपोभुमी स्कुल तृतिय भएको छ । साथै नवरत्न लाईफ स्कुल, चाणक्य स्कुल र आदर्श माध्यामि विद्यालय सानोथिमिले सान्त्वना स्थान हासिल गरेको नगरपालिकाका सामाजिक विकास महासशाखा एवम् शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताउनुभयो ।


प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीहरुलाई बुधवार आयोजित विशेष कार्यक्रममा पुरस्कार वितरण गर्दै भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले शिक्षालाई मौलिक हकका रुपमा संविधानमा उल्ल्ेख भएपनि अझै धेरै बालबालिका शिक्षाबाट वञ्चित रहेको बताउनुभयो । उहाँले शिक्षा निःशुल्क हुनुपर्ने सैद्धान्तिक व्यवस्था भएपनि व्यहारमा अझै लागु हुन नसकेको बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि नीजि क्षेत्रसँग पनि सहकार्य गरी अघि बढीरहेको बताउनुभयो ।


उहाँले एकिकृत भान्साघर मार्फत दिवा खाजको व्यवस्था गरी सामूदायिक विद्यालयका सबै विद्यार्थीहरुको खाजामा एकरुपकता ल्याउने र गुणस्तरीय एवम् स्वस्थ खाजाको व्यवस्था गर्न नगरपालिकाले कार्य शुरु गरिसकेको बताउनुभयो ।
उहाँले सामूदायिक विद्यालयमा विद्यार्थी भर्नादर बृद्धि गर्न र गुणस्तरीय शिक्षाको लागि नगरपालिकाले विभिन्न अतिरिक्त क्रियाकलापका शिक्षकको व्यवस्थाका साथै शिशुस्याहार केन्द्रको स्थापना गर्ने नीति लिएको बताउनुभयो ।
कार्यक्रममा एसईई २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने विद्यार्थीहरुमा ४ जिपिए ल्याउन सफल एसओएसका आर्यन न्यौपाने, ३.९६ जिपिए ल्याउन सफल मातृभुमीका प्रजना लाखे, नवरत्न लाईफ स्कुलका एञ्जिला श्रेष्ठ र श्रुजिका श्रेष्ठ, हिमचुली स्कुलका पुष्पाञ्जली पोखरेल, ३.९१ जिपिए ल्याउने आदर्श मावि सानो थिमिका पौरख बाबु भण्डारी, ३.९ जिपिए ल्याउने आदर्श मावि सानोथिमिका रोशनी श्रेष्ठलाई नगदसहित पुरस्कृत गरिएको थियो ।


यसैगरी आधारभुत विद्यालय तहमा उत्कृष्ट अंक ल्याउन सफल हिमचुली स्कुलका कविराज गिरी र लुमु कालु, आदर्श मावि लायकुका सजिमा ठकुरी, गणेश मावि नगदेशका नविन सार्कीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।
यस्तै विषयगत रुपमा औषतमा उच्चतम स्तरीकृत अंक ल्याउन सफल शिक्षक र अनिवार्य विषयमा औषतमा उच्च जिपिए प्राप्त गर्न सफल विद्यालयहरुलाई पनि सम्मान गरिएको थियो ।
यसका साथै सामूदायिक विद्यालयहरुमा उत्कृष्ट कार्यसम्पादन गरेका शिक्षक शिक्षिकाहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर केसी, वडा नं. २ का वडाअध्यक्ष एवम् शिक्षा समितिका संयोजक श्रीकृष्ण श्रेष्ठलगायतले मध्यपुर थिमि नगरपालिकाले शिक्षामा गरेका लगानी, नीतिगत योजनाका बारेमा चर्चा गर्नुभएको थियो ।