एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड – एरिका र रोहित उत्कृष्ट वर्ष खेलाडी, पिपुल्स च्वाइसमा कविता

भक्तपुर, भदौ २९
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल वर्ष २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले शुक्रवार आयोजना गरेको अवार्ड कार्यक्रममा एरिका र रोहित वर्ष २०८० भरी खेल क्षेत्रमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट घोषित भएका हुन ।
एनएसजेएफले आयोजना गर्दै आइरहेको देशकै प्रतिष्ठित अवार्डमा एसियाली खेलकुद ( एसियाड)मा रजत पदक विजेता एरिकाले फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशीलाई पछि पार्दै उपाधि जितेकी हुन ।


पुरुष क्रिकेट टोलीका कप्तान रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारे ।
एरिकालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवार्ड प्रदान गरे । अवार्डको मुख्य प्रायोजक हंशराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले रोहितका आमा र दाई राजुलाई अवार्ड हस्तान्तरण गरेका थिए । वर्ष उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले पल्सर एनएस २०० मोटरबाइक पाए ।


भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । इसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् ।
कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए ।
पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर बाइक जितिन् । उनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे ।


वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । यो अवार्ड विजेता कुशलले पनि पल्सर एनएस २०० मोटरबाइक पाए । उनलाई प्लाजा ग्रुप अप होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले अवार्ड प्रदान गरे ।
कुशलको प्रशिक्षणमा नेपालले १९औं एसियाड एक रजत तथा दशौं विश्व कराते च्याम्पियनसिप इन्डोनेसिया (१ स्वर्ण, ३ रजत र ५ कांस्य पदक) मा पदक प्राप्त गरेको थियो । उनको प्रशिक्षणमा सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (१ स्वर्ण र १ रजत) पदक जितेको थियो ।
प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे ।


युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल घोषित भए । हेमन्तले अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए । उनलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले अवार्ड प्रदान गरे ।


हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते । १६ वर्षे हेमन्त भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन् । उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका हुन् ।
एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे ।  पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन् ।


लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे । पाण्डेलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड प्रदान गरे ।


स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए । उनी दुई दशकभन्दा बढी समय भलिबलको प्रशिक्षणमा सक्रिय छन् । प्रशिक्षक राई एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले अवार्ड प्रदान गरे ।
१९औंं एसियाडमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्यो । नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष ब्रजाचार्यले यो टोलीलाई अवार्ड प्रदान गर्यो ।


लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ । सूर्य नेपाल प्रालीका ब्रान्ड म्यानेजरले दक्षिण कोरियाली पत्रकार ही डोङले अवार्ड प्रदान गरे ।
कुल १० विधामध्ये एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट एक वर्षका लागि खेलकुद विमा पाउनेछन् ।
यसै कार्यक्रममा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदीसहित ६ देशका पत्रकारले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे । युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले यो अवार्ड पाएका हुन् ।


बागमती प्रदेशका सदस्यसचिव दीपक लामा, केल्मी नेपालका प्रवन्ध निर्देश उत्तम न्यौपाने, चन्द्रागिरी हिल्सका सेल्स एन्ड मार्केटिङ निर्देशक प्रभावकर खड्का र एआइपिएसका उपाध्यक्ष यानिस दारासले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड विजेतालाई सम्मान गरेका थिए ।
हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको मूख्य प्रायोजन रहेको अवार्ड कार्यक्रमको सह–प्रायोजक र सहयोगीमा सूर्य नेपाल प्रालि, ई–सेवा, केल्मी नेपाल, युनाइटेड अजोड इन्स्योरेन्स, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल्स, इमेजिङ, न्यु होराइजन कार्पेट, हिमालय होटल, चन्द्रागिरी हिल्स, राखेप, एनओसी, होटल संघ नेपाललगायत छन् ।