पारालिम्पिक्समा कास्य विजेता पलेशाले ६५ लाख नगद पुरस्कार पाउने

भक्तपुर, भदौ १५
फ्रान्सको पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएकी छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पलेशाले सो रकम पुरस्कार पाउने भएको हो ।
नियमावली २०७९ मा ग्रीष्मकालीन÷शीतकालीन÷पारा÷विशेष ओलम्पिक तथा र विश्वकप फुटबलमा कांस्य जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । सो अनुसार पलेशाले ६५ लाख रुपैंया पुरस्कार पाउने भएको हो ।
नियमावली अनुसार पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख पुरस्कार दिने व्यवस्था छ ।
पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनी कास्य पदक जितेकी हुन् । उनले सर्बियाकी खेलाडीलाई १५–८ ले ओलम्पिक इतिहासमा नेपाललाई पहिलो पदक जिताएकी हुन् । ओलम्पिकमा ६ दशकदेखि सहभागिता जनाउँदै आए पनि नेपालले पदक जित्न सकेको थिएन ।
पलेशाले पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०–८ ले पराजित हुन पुगेकी थिइन् । त्यसपछि रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।