गठ्ठाघर घटनामा ट्राफिक प्रहरीमाथि हातपात गर्ने ४ जना पक्राउ

भक्तपुर, भदौ १४
भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा गत साउन ३१ गते भएको सवारी दुर्घटनाको क्रममा ट्राफिक प्रहरीमाथि हातपात गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी कारवाही अगाडि बढाएको छ । प्रहरीले उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।
पक्राउ पर्नेहरुमा हाल मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघर बस्ने उदयपुरको चौदण्डी नगरपालिका–६ का २९ वर्षिय रोहित थापा मगर, झापाको बाह्रदर्शी गाउँपालिका–५ का ३१ वर्षिय सुवार बस्नेत, कपिलवस्तुको बुडबाटिका नगरपालिका–३ का २६ वर्षिय सुदिप पराजुली र रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षिय देवराज खत्री रहेका छन ।
प्रहरी स्रोतका अनुसार उनीहरुलाई सीसी क्यामरा फुटेजका आधारमा गत भदौ ११ गते पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
गठ्ठाघर घटनामा काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकको ठक्करले बा ३९ प ८९४४ नम्बरको स्कुटर चालक ओखलढुंगा चिशंखुगढी गाँउपालिका–४ खहरे घर भई हाल काठमाण्डौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोईरालाको घटनास्थलमा मृत्यु भएको थियो ।
सो घटना ट्राफिक प्रहरीको सवारी जाँचका कारण भएको भन्दै ट्राफिक प्रहरीमाथि आक्रमण भएको थियो । आक्रमणबाट बच्न नजिकको रेष्टुरेन्टलगायतका स्थानमा लुक्न गएका ट्राफिक प्रहरीमाथि समेत आक्रमण भएको थियो ।
आक्रमणबाट जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेलगायतको बर्दी च्यातिनुका साथै सामान्य घाईते समेत भएका थिए ।