मध्यपुर थिमि नगरपालिकाको योजना – समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस

मध्यपुर थिमि, भाद्र ६
मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmम अन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु आर्थिक वर्ष २०८१÷०८२ मा कर तिर्दा विभिन्न छुट तथा सहुलियतको योजना ल्याएको हो ।
जसअनुसार २०८१ श्रावणदेखी असोज महिना भित्रमा सम्पत्ति कर बुझाएमा आ.व. २०८१÷०८२ मा लाग्ने करमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यस्तै अघिल्ला वर्षहरूको समेत सम्पत्ति करमा समेत छुटको व्यवस्था गरेको नगरपालिकाको राजश्व शाखा प्रमुख रविन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार करदाताहरूले २०८१ श्रावण देखी असोज भित्र कर बुझाएमा अघिल्लो ३ बर्षको बक्यौतामा लाग्ने जरिवाना छुट गरिएको छ ।
नगरपालिकाले नयाँ व्यवसाय दर्तालाई प्रोत्साहन गर्न आर्थिक बर्ष २०७४÷०७५ लाई आधार बर्ष मानी उक्त आर्थिक बर्ष भन्दा अगाडिको व्यवसाय कर छुट गरिएको छ । यसैगरी २०८१ साल श्रावणदेखी असोज महिना भित्र व्यवसाय दर्ता नविकरण गर्न आएमा बक्यौता करमा लाग्ने सम्पूर्ण जरिवाना छुट गरिएको छ ।
नगरपालिकाले सम्पत्तिकरमा जस्तै व्यवसाय करमा पनि २०८१ साल श्रावणदेखी असोज महिना भित्र व्यवसाय कर बुझाएमा आ.ब. २०८१÷०८२ मा लाग्ने व्यवसाय करमा मात्र १० प्रतिशत छुट गरिएको छ ।
नगरपालिकाले नयाँ व्यवसाय दर्तामा समेत १० प्रतिशत छुटको प्रावधान लागु हुने भएकोले दर्ता नभएका व्यवसाय असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा गई दर्ता गर्न आग्रह गरेको छ ।
नगरपालिकाले घरबहाल करमा समेत विशेष छुटको व्यवस्था गरेको छ । जसअनुसार २०८१ श्रावणदेखी असोज महिना भित्रमा आ.व. २०८१÷०८२ मा लाग्ने सम्पूर्ण घरबहाल कर एकमुष्ट अग्रिम बुझाउने करदातालाई चालु आ.ब. मा लाग्ने बहाल करमा मात्र १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
नगरपालिकाले करदाताको चाहना अनुरुप आवासिय र व्यवसायिक प्रयोजनका लागि छुट्टाछुट्टै बहालकरको दर लागु गरेको छ । नगरपालिकाले आवासीय प्रयोजनका लागि बहालमा लगाएको अवस्थामा ५ प्रतिशत र व्यवसायिक प्रयोजकन लागि दिईएको बहालमा १० प्रतिशत कर लागु गरेको छ ।
नगरपालिकाको आन्तरिक आम्दानीको प्रमुख स्रोतले जनताले तिर्ने विभिन्न कर भएकाले करदाताको चाहना र उनीहरुलाई थप सुविधा दिई कर तिर्न प्रोत्साहित गर्ने उद्देश्यले करमा विभिन्न छुटको योजना ल्याएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले बहालकरमा धेरै जनगुनासो आएको र करको दर बढी भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बहालकरमा दुई थरी करको दर लागु गरिएको जानकारी दिनुभयो । नगरप्रमुख श्रेष्ठले नगरपालिकाले ल्याएको छुटको सुविधा लिई मौकाको फाइदा उठाउन आग्रह समेत गर्नुभयो ।
“समयमा कर तिर्नु सबैको दायित्व हो । ढिलो चाँडो कर तिर्नै पर्छ । करदातालाई सम्मान गर्नु राज्यको पनि दायित्व हो । यसै अनुरुप करदाताको सम्मानको लागि पनि छुटको व्यवस्था ल्याएका हौं,” उहाँले भन्नुभयो, “समयमा तिर्ने करदाता र ढिला तिर्ने करदातालाई एउटै सुविधा र व्यवस्था न्यायोचित नभएकाले पनि समयमा तिर्ने करदातालाई प्रोत्साहित गर्न छुटको व्यवस्था गरेका हौं ।”