रिपोर्टर्स क्लबमा गाईजात्रा – प्रधानमन्त्री ओलीदेखि गिरिजासम्मको क्यारिकेचर र व्यङ्ग्य

भक्तपुर, भदौ ४
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्य व्यङ्ग्यसँग पनि जोडिएको छ ।
गाईजात्राको अवसरमा हाँस्य कलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गदर्छन् । यसै अवसरमा रिपोर्टर्स क्लब नेपालले मंगलवार हाँस्य कलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ ।
कार्यक्रममा हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गर्दै ‘कहिले घाँस कहिले दाउरा, पधेरीमा पानी, घाँस, दाउरा, पानी गर्दै सकियो जवानी’ भन्ने गीतलाई प्यारोडी गाउनुभयो ।


उहाँले प्यारोडीमा देशमा व्याप्त भ्रष्टाचार र युवाहरुको विदेश पलायनलाई समेट्नुभएको थियो । ‘कहिले यती, कहिले ओम्नी, कहिले गिरीबन्धु कहानी, भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी,’ उहाँले प्यारोडीमार्फत व्यङ्ग्य गर्नुभयो ।
बाल हाँस्य कलाकार सुयसा खनालले आफूलाई सबैभन्दा मनपर्ने पत्रकार ऋषि धमला रहेको बताउँदै राष्ट्रिय नाचघरमा जारी गाईजात्रामा पनि उहाँकै क्यारिकेचर गरेको जानकारी दिनुभयो । उहाँले आफूले गरेको क्यारिकेचरको छोटो अंश पनि प्रस्तुत गर्दै गाईजात्रामा खस्किँदो अवस्थामा रहेको देशको शैक्षिक अवस्थाप्रति पनि ब्यङ्ग गर्नुभयो ।
अर्का हाँस्य कलाकार दमन रुपाखेतीले आफूहरुले जति ब्यङ्ग्य गरेपनि नेताहरु नसुध्र्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।


हाँस्य कलाकार दिनेश काफ्लेले यतिबेलका देशमा सबैलाई महँगी र भ्रष्टाचारले पिरेको बताउनुभयो । उहाँले देशमा रोजगारी नपाएर दैनिक रुपमा विदेश पलायन भइरहेका युवाहरुको पीडालाई समेत प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको क्यारिकेचर गर्नुभयो ।


हाँस्य कलाकार हिमेश पन्तले राष्ट्रिय नाच घरमा हिजोबाट गाईजात्रा महोत्सव सुरु भएको र आगामी भदौ १० गतेसम्म निरन्तर चलिरहने जानकारी दिनुभयो ।


त्यसैगरी, शिवशंकर रिजाल (जोगिन्दर पानवाला)ले विगत २१ वर्षदेखि निरन्तर गाईजात्रा निकाल्दै आएको बताउँदैं यसपटक ओएसआर डिजिटलमार्फत ‘ठगठाग कम्पनी’ गाईजात्रा रिलिज गरेको जानकारी दिनुभयो ।
उहाँले माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री ओली, माधव नेपाल, शेरबहादुर देउवा, महन्थ ठाकुर, रवि लामिछाने, महेश बस्नेत, अशोक राई, बालेन शाहलगायतमाथि ब्यङ्ग्य गरेका थिए ।


हाँस्यकलाकार जितु नेपालले नेता होईन, अब देश सुध्रिएमात्रै नेपाल बन्ने बताउँदैं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भेटवार्तातर्फ लक्षित व्यङ्ग्य गर्नुभयो । कलाकार नेपालले हाँस्य व्यङ्ग्य क्षेत्रलाई सामान्य औषधि र एन्टिबायोटिकले काम गर्न छाडेको बताउनुभयो ।


हाँस्यकलाकार राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा.बाबुराम भट्टराइलगायतको क्यारिकेचर गर्नुभयो ।


अर्का हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूले ४५ वर्षदेखि निरन्तर गाईजात्राको प्रस्तुति गरिरहेको बताउनुभयो । पहिला गाईजात्राको अवसरमा वर्षको एक हप्तामात्रै व्यक्ति तोकेर व्यङ्ग्य गर्न पाइने अवस्था पनि उहाँले स्मरण गर्नुभयो । उहाँले कवितामार्फत राजनीतिक नेतृत्वमाथि ब्यङ्ग्य गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले अहिले देशमा प्रत्येक दिन गाईजात्रा भइरहेको टिप्पणी गर्नुभयो । उहाँले पञ्चायती व्यवस्थामा राजनीतिक नेतृत्वमाथि गाईजात्राको अवधिमा ८ दिनमात्रै व्यङ्ग्य गर्न पाइने विगतलाई स्मरण गराउँदै अहिले आफूलाई लागेको कुरा जहिले पनि व्यक्त गर्न सकिने अवस्थामा देश आइपुगेको बताउनुभयो ।


पत्रकार धमलाले नेताहरुलाई प्रत्येक दिन गाली गर्दागर्दा जनता वाक्क दिक्क भइसकेको बताउँदै अब गाईजात्रामा पनि सकारात्मकता खोज्न सुझाव दिनुभयो । ‘हाम्रो देशमा प्रत्येक दिन नकरात्मक कुरा गरिन्छ । नेताहरुलाई गाली गरिन्छ । आजको दिनमा एउटा संकल्प गरौं, अब राम्रा कुरा गरौं । प्रत्येक दिन गाली गर्दागर्दा सबै वाक्कदिक्क भइसके,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा कलाकार सुरेन्द्र केसी, पल्पसा डङ्गोललगायतको उपस्थिति र प्रस्तुति रहेको थियो ।