साफ यु–२० फुटबल ः नेपालको संघर्षपूर्ण जित

भक्तपुर, भदौ ३
साफ यु–२० च्याम्पियनसिप २०२४ मा आइतवार नेपालले संघर्षपूर्ण जित निकालेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकाविरुद्ध १–० को जित निकालेको हो ।
नेपालको जितमा निराजन धामीले खेलको २३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले रिवाउण्डमा गोल गरेका हुन । फ्रिककबाट आएको बललाई समीर तामाङले बाइसाइकल किक प्रहार गरेका थिए । तर उक्त बल श्रीलंकाका खेलाडीलाई लाग्न पुगेको थियो । सोही रिबाउन्डमा आएको बललाई उनले जाली चुमाए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले खेलमा तुलनात्मक रूपमा बल पोजिसनमा पकड जमाए पनि फिनिसिङ कमजोर हुँदा प्रतियोगिताकै कमजोर मानिएको श्रीलंकाविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नुप¥यो । नेपाल गोल गर्न बारम्बार चुकेको थियो ।


आक्रमक फुटबलमा जोड दिएको नेपालले पटक पटक गोलको अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । श्रीलंकाले पहिलो हाफमै २ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो हाफमा नेपालले थप अवसर सिर्जना गरेको थियो, तर पुनः एकपटक पहिलो हाफकै फिनिसिङको समस्या दोहोरिंदा खेलमा अग्रता बढाउन असफल रह्यो ।
खेलको दोस्रो मिनेटमै नेपालको अग्रता लिने प्रयासमा अफसाइड बाधक बन्यो । अभिनाश स्याङतानको फ्रिकिकमा निराजन धामीको प्रयास गोल भएपनि सहायक रेफ्रीले अफसाइडका लागि झन्डा उठाए । २१ औं मिनेटमा कुशल देउवाको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
पहिलो हाफको इन्ज्युरी समयमा श्रीलंकाका मिहम्द थिल्हमले गरेको प्रहार नेपालका गोलरक्षक जियारत शेखले बचाए । दोस्रो हाफको ६३ औं मिनेटमा समिर तामाङले गोल गर्ने सुवर्ण अवसर खेर फाले । राम थापाले दायाँ विंगबाट दिएको लो क्रस निराजनले छुन नसक्दा ब्याक पोस्टमा रहेका समिरले गरेको पहिलो टचकै प्रहार आकासियो ।


८० औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर सदुपयोग गर्न सकेन । अभिनाशको थ्रु बलमा अनिल बम्जनको प्रहार श्रीलंकाका गोलरक्षक अहमद फुलेलले खुट्टाले विफल पारे । त्यसअघि अभिनाशकै क्रसमा आश्विन घोरासैनीको हेडरले पोस्टको दिशा लिन सकेन ।
इन्ज्युरी समयको पहिलो मिनेटमा निराजनको प्रहारमा पोस्ट बाधक बन्यो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको हाफ भली प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
जितसँगै नेपालले समूह ए मा महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । नेपालले दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्ने छ । श्रीलंकाले भने मंगलबार बंगलादेशसँग खेल्ने छ । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।