देशको संकट समाधानका लागि कांग्रेस र एमाले एक ठाउँमा उभियो – सांसद थापा

भक्तपुर, भदौ १
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले देशको संकट समाधानका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिएको बताउनुभएको छ ।
नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ५ समितिको आयोजनामा शनिवार आयोजित बृहत कार्यकर्ता भेलामा सांसद थापाले नेपालको इतिहासमा कांग्रेस र कम्युनिष्ट मिलेर पटक पटक राजनैतिक परिवर्तन गरेको चर्चा गर्दै अहिले पनि राजनैतिक अस्थिरता अन्त्यको लागि कांग्रेस एमाले एक ठाउँमा उभिएको बताउनुभएको हो ।


“जब जब मुलुक संकटमा पर्यो, जब जब नेपालमा राजनैतिक परिवर्तनको खाँचो प¥यो, तब तब कांग्रेसले कम्युनिष्टको साथ लिएर संकटको समाधानका साथै राजनैतिक परिवर्तनको नेतृत्व गरेको इतिहास साक्षी छ,” उहाँले भन्नुभयो, “अहिले पनि मुलुकको राजनैतिक अस्थिरता अन्त्य गरी आर्थिक समृद्धिको लागि कांग्रेस र एमालेले हातेमालो गर्ने निर्णय गरेको हो ।”
उहाँले अहिलेको सत्ताको अस्थिरताको अन्त्यको लागि संविधान संशोधनसम्मको समझदारी अनुसार कांग्रेस एमालेले सत्तामा सहकार्य गरेको बताउनुभयो । उहाँले कांग्रेस र एमालेबीच सत्ता साझेदारी बने पनि राजनीतिमा प्रतिष्पर्धा भने कायमै रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “मुलुकको संकट समाधान गर्ने र विकास निर्माणमा कांग्रेस एमालेले सहकार्य गर्नेछ तर राजनीतिमा भने प्रतिष्पर्धा कायम रहन्छ ।” उहाँले राजनीतिमा स्वच्छ प्रतिष्पर्धा हुने स्पष्ट पार्नुभयो ।
भेलामा सांसद थापाले कांग्रेसको संगठनलाई क्रियाशिल बनाई संगठनलाई थप मजबुद बनाउन पार्टीको वडा र टोल कमिटीहरु क्रियाशिल बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले सांसदको रुपमा विकास निर्माणका योजना माग गर्ने, कार्यान्वयनको अनुगमन गर्ने, जिल्लाका समस्या समाधानका लागि सम्बन्धीत निकायसँग निरन्तर सम्पर्क र छलफलमा रहेको जानकारी दिँदैं सडक निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफु क्रियाशिल रहेको बताउनुभयो ।


उहाँले आफु हल्ला र प्रचार बाजीमा भन्दा परिणाममुखी काममा विश्वास गर्ने स्वभावको भएको बताउँदैं बोलेर होइन काम गरेर देखाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नगरसभापति निशान ढुंगेलले पार्टी नेतृत्व, जनप्रतिनिधि र स्थानीय कार्यकर्ताबीचको दुरी कम गरी एक आपसमा छलफल गराउन र तल्लो तहका नेता कार्यकर्ताको गुनासो र सुझाव सिधै नेतृत्व तहमा राख्ने वातावरण निर्माणका लागि कार्यकर्ता भेला आयोजना गरेको बताउनुभयो ।


कार्यक्रममा सहभागीहरुले विभिन्न गुनासो र सुझाव राखेका थिए । ती जिज्ञासाहरुको जवाफ सांसद थापा र नगरसभापति ढुंगेलले दिनुभएको थियो । भेलामा अधिकांस कार्यकर्ताले जन स्तरमा पार्टीले गरेका काममा सहयोग भन्दा एकले अर्काको खुट्टा तान्ने गरेको, विकास निर्माणका काममा समेत अनेक आरोप प्रत्यारोप लगाउने रोग पार्टी भित्र रहेको र सामाजिक सञ्जालमा विपक्षीहरुले गर्ने गलत प्रचारको प्रतिकार गर्न नसकेको गुनासो राखेका थिए ।
वडा सभापति राजु ढुंगेलको सभापतित्वमा सम्पन्न भेलामा नेपाली कांग्रेस बागमति प्रदेश सदस्य सुमन कार्की, सुनिता के सी, प्रदेश क्षेत्र २ क का सभापति प्रदिप कार्की, तरूण दलका केन्दिय सदस्य राजु थापा, वडा अध्यक्षका प्रत्यासी राजेश तज, तिनधारा खानेपानीका अध्यक्ष पुर्ण बिसुंखेलगाएका जिल्ला, क्षेत्र, नगर र वडाका क्रियाशिल नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।