गठ्ठाघर दुर्घटनाको सत्यतथ्य अध्ययन गर्न जिल्ला प्रशासनद्धारा समिति गठन

भक्तपुर, साउन ३२
जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमि–३, गठ्ठाघरमा बिहिवार दिउँसो एक जनाको घटनास्थलमा नै मृत्यु हुने गरी भएको सवारी दुर्घटनाको सत्यतथ्य अध्ययन गरी सार्वजनिक गर्न एक समिति गठन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले सरोकारवाला विभिन्न निकाय र संघ संस्थासँगको छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिईएको छ । समितिमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक राजन कार्की, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रोधरोधका मेकानिकल ई. उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट तुलसीहरी कोइराला रहनुभएको छ ।
समितिले भदौ १ गते शनिवारबाट नै घटनाको अध्ययन शुरु गरिने समितिका संयोजक सहायक प्रजिअ निरौलाले बताउनुभयो । उहाँले घटनाको सम्बन्धमा जे जति विषय उठान भएको छ, ती विषयमा गम्भिर ढंगले अध्ययन गरी प्रतिवेदन सम्बन्धीत निकायमा बुझाईने जानकारी समेत दिनुभयो ।
गठ्ठाघरमा बिहिवार दिउँसो काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदैं गरेको ना ६ ख २१७३ नम्बरको १४ चक्के ट्रक र बा ३९ प ८९४४ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक ओखलढुंगा घर भई हाल काठमाण्डौं कपन बस्ने उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो ।