पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषीको निराशाजनक प्रदर्शन

भक्तपुर, साउन २७
पेरिस ओलम्पिक २०२४ मा नेपाली महिला म्याराथन धाविका सन्तोषी श्रेष्ठले निराशाजनक प्रदर्शन गरेकी छिन । उनले निर्धारित दुरी २ घण्टा ५५ मिनेट ६ सकेन्डमा पुरा गरी ७९औँ स्थान हासिल गरिन ।
‘वाइल्ड कार्ड’मार्फत पहिलो पटक ओलम्पिकमा सहभागिता जनाएकी सन्तोषीले सहभागी ९२ जना मध्ये ७९ औं स्थानमा दौड पुरा गरेकी हुन । उनले १२ प्रतिस्पर्धीलाई पछि पारिन् ।
उनले पहिलो १० किलोमिटरको दुरी ३९ मिनेट १६ सेकेन्डमा पुरा गरेकी थिइन् । हाफ म्याराथन सकाउन उनलाई १ घण्टा २५ मिनेट ३१ सेकेन्ड समय लागेको थियो । उनलाई अन्तिम ७ किलोमिटरको दुरी तय गर्न करिब आधा घन्टा नै लागेको थियो । सन्तोषीको यो टइमिङ करियरको खराब प्रदर्शन हो ।
गतवर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजिब ढाका इन्टरनेसनल म्याराथनमा सन्तोषीले २ घन्टा ४६ मिनेट २२ सेकेन्डको टाइमिङमा राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेकी थिइन् ।
म्याराथनमा नेदरल्याण्डका सिफन हसनले २ घन्टा २२ दशमलव ५५ सेकेन्डमा दौड पूरा गर्दै ओलम्पिक रेकर्ड सहित स्वर्ण जित्न सफल भइन् । यो पटक कोर्सलाई कठिन मानिएपनि महिलातर्फ म्याराथनमा नै ओलम्पिक रेकर्ड बनेको छ । स्वर्ण विजेता सिफन भन्दा सन्तोषी ३२ मिनेट ११ सेकेन्डले पछि परिन् ।
इथोपियाकी टिक्सट असेफा २ घन्टा २२ दशमलव ५८ सेकेन्डको टाइमिङमा रजत र केन्याकी हेलेन ओबिरी २ घन्टा २३ दशमलव १० सेकेन्डको टाइमिङमा कास्य पदक जितिन् ।


यसपटकको ओलम्पिकमा पौडी खेलाडी एलेक्सजेन्डरको प्रदर्शन मात्र उपलब्धीमूलक भएको छ । उनले पौडीकोे १ सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।
स्पर्धाको तेस्रो हिटमा रहेका उनले ५१ दशमलव ९१ सेकेन्डमा निर्धारित दुरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड कीर्तिमान गरेका हुन । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्ड एक्वेटिक्स च्याम्पियनशीपमा सो कीर्तिमान बनाएका थिए । उनी कुल सहभागी ७९ जना प्रतिष्पर्धी मध्ये ५९ औं स्थानमा रहेका थिए ।
नेपालबाट सहभागी अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए । टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।