पेशासँगै अनुशासित हुनुपर्छ – अध्यक्ष बिजुक्छें

भक्तपुर, साउन २६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पेशासँगै पेशाकर्मी अनुशासित हुनुपर्ने बताउनुभएको छ । निओ फ्युजन स्कुल अफ कम्प्युटरले शनिबार आयोजित १९ औ प्रमाणपत्र, प्रशंशापत्र, अभिनन्दन, पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा अध्यक्ष बिजुक्छेंले जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार अहिलेको आवश्यकता भएको बताउनुभएको हो ।
उहाँले अनुशासन भएन भने जस्तोसुकै विज्ञताको खास अर्थ नहुने बताउँदैं आजको युवा पुस्तालाई पेशाप्रतिको इमान्दारिता र अनुशासनको महत्व बुझाउनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले आफूले सिकेको सीपमा दक्ष भई स्वदेशमै काम गर्नुपर्नेमा जोड दिनुभयो । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नयाँं पुस्तामा मेहनतको महत्वबारे चर्चा गर्नुभयो ।


कार्यक्रममा निःशुल्क तालिमका प्रशिक्षकहरुलाई पुरस्कार वितरण गरिएको थियो । जस अनुसार हाउस वाइरिङका कृष्णप्रसाद तुईतुई, पत्रकारिताका रेणु त्वानाबासु, मोवाइल ममर्तका दिपेश लागे, व्युटी पार्लरका सनिशा कोजु, धिमे बाजाका उगेन वोयजु, धाँ बाजाका सविन लेवा, नृत्यकलाका लक्ष्मी तामाङ, गितारका सुमिता वनमाला र इन्टिरियल डिजाइनका एन्जिला याकामीलाई सम्मान गरिएको थियो ।
यसैगरी नेपालको ख्याती प्राप्त पौभा कलाकार सूर्यबहादुर चित्रकार, १५ वर्ष निरन्तर प्रशिक्षक रहेबापत राधा ब्याञ्जु र स्वतन्त्र पत्रकार कृष्ण किसीलाई पनि सम्मान गरिएको थियो ।
निओ फ्युजन संस्था सन् २००६ मा स्थापना भएको हो । संस्थाले स्थापनाकालदेखि नै विभिन्न विषयहरुमा युवाहरुलाई निःशुल्क तालिम प्रदान गर्दै आइरहेको संस्थाका निर्देशक बालकृष्ण वनमालाले बताउनुभयो । उहाँले यो वर्ष मात्रै एसइई दिएर बसेका दुई सय ३८ जना पुरुष र एक सय ९२ जना महिला गरी कुल चार सय ६० जनालाई विभिन्न दसवटा तालिमहरु दिइएको जानकारी दिनुभयो । संस्थाले हालसम्म ६ हजार सात सय ८० जनालाई विभिन्न तालिमहरु प्रदान गरी शिपयुक्त बनाइएको वनमालाले बताउनुभयो ।