बागमती प्रदेशको सामाजिक विकास मन्त्री खड्गीद्धारा श्री पद्य माविको अवलोकन

भक्तपुर, साउन २५
भक्तपुरको नै पहिलो विद्यालयको भौतिक अवस्था देखेर बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले दुःख लागेको बताउनुभएको छ । विद्यालयको अवलोकन गर्दै उहाँले सय वर्ष पुरा भएको विद्यालयको भौतिक पूर्वाधारको विकासमा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले उपेक्षा गर्दा ईतिहास लोप हुने अवस्थामा पुगेको देखेर दुःख लागेको बताउनुभएको हो ।
अवलोकनका क्रममा उहाँले २०७२ सालको भूकम्पदेखि हाल सम्म विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधारका विषयमा विद्यालयले चालेको कदमको विषयमा जानकारी लिनुभएको थियो ।
यस्तै विद्यालयका प्रधानाध्यापक राम हाडाले नमुना विद्यालयको रूपमा विद्यालय छनोट भएको भए पनि स्थानीय तहको असहयोगका कारण विद्यालय भवन बन्न नसकेको र टहरामा नै अध्यापन गराउन बाध्य भएको बताउनुभयो ।
भक्तपुर विद्यालय दरबार क्षेत्र भित्र पर्ने भएका कारण पुरातत्व विभाग र स्थानीय तहको चेपुवामा पर्दा विद्यालयको भौतिक पूर्वाधार निर्माणमा ढिलाइ हुँदै आएको सरोकारवालाहरूले बताए ।


विद्यालय अनुगमन पश्चात मन्त्री खड्गीले विद्यालय निर्माणका लागि प्रदेशबाट सक्दो पहल गर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको र शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेको बताउनुभयो । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्ने निर्देशन मन्त्री खड्गीले दिनुभयो ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उहाँले विद्यालयलाई निर्देशन दिनुभयो ।
अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने जानकारी दिएका थिए ।
अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।


भक्तपुरमा राणकालीन अवस्थामा ठुलो संर्घषका बाबजुद विसं १९८१ श्री पद्म माध्यमिक विद्यालय खुलेको थियो । शिक्षा विकासलाई मध्यनजर गर्दै खुलेको यो विद्यालय भक्तपुरको नै पहिलो विद्यालय हो । श्री पद्मको स्थापना चन्द्रशमशेरको पालामा ‘भादगाउँ अङ्ग्रेजी विद्यालय’ का नामले भएको थियो । समाजसेवी जगबहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले उक्त विद्यालयमा दुई कक्षासम्म सञ्चालन गरेका थिए । प्रारम्भिक चरणमै अङ्ग्रेजी शिक्षा भित्र्याउने यो भक्तपुरकै पहिलो विद्यालय पनि हो ।
विसं २००३ सालमा पद्म शमशेरले यसलाई माध्यमिक तह बनाउने हुकुम दिएसँगै यसको नाम पनि फेरियो । यहाँका विद्यार्थी २००३ सालबाटै एसएलसी परीक्षामा सहभागी थिए । त्यो बेला ४ जना विद्यार्थीले परीक्षा दिएका थिए ।