काभा बिच भलिबलमा नेपाली पुरुष टोली दोस्रो

भक्तपुर, साउन २०
काभा बिच भलिबल च्याम्पियनसिपमा नेपालको पुरुष राष्ट्रिय बिच भलिबल टोली दोस्रो भएको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शनिबार भएको फाइनलमा माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको नेपाली टोलीले दोस्रो स्थान हासिल गरेको हो ।
फाइनलको पहिलो सेटमा कडा चुनौती पेश गरेपनि नेपालले माल्दिभ्सलाई १९–२१ ले नतिजा सुम्पन पुग्यो । दोस्रो सेटमा पनि नेपालले बलियो चुनौती पेश गरेपनि माल्दिभ्सदे खेल १७–२१ आफ्नो पक्षमा पारेपछि नेपाली टोली दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको हो ।
यसअघि नेपालले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि नेपालको पुरुष टोली रजत पदक जितेको थियो । बिहीबारबाट शुरु भएको च्याम्पियनसिपमा पुरुषमा १० टोलीको सहभागिता रहेको थियो । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेलेका थिए । पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरेका थिए ।