नगरकोटमा सञ्चालित शुक्रवारे हाटबजार शुरु भएको एक वर्ष पुरा

भक्तपुर, साउन १९
पर्यटकीय केन्द्र नगरकोटमा सञ्चालन भइरहेको शुक्रबारे हाट बजारको बार्षिकोत्सव मनाइएको छ । नगरकोटको पर्यटनका साथै व्यवसायलाई प्रवर्द्धन गर्न नगरकोटको मञ्जुश्री पार्कमा स्थानीय सरकार र व्यवसायीहरूको अगुवाइमा सुरू भएको हाटबजारले सफलताका साथ एक वर्ष पार गरेको उपलक्ष्यमा शुक्रवार वार्षिकोत्सव मनाइएको हो ।
नगरकोटमा आस्क नेपालको सहयोगमा हाटबजार सञ्चालनमा आएको हो । नगरकोटका सबै निकाय, पक्षसँग समन्वय र सहकार्य गरि थालनी गरिएको उक्त बजारले ३६५ दिन पार गरेको अवसरमा किसानका साथै होटल व्यवसायीहरूलाई सम्मानित गरेको छ । कार्यक्रममा उत्कृष्ट कृषक, उत्कृष्ट बिक्रेता र खरिदकर्ताहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको आयोजकले जनाएको छ ।
उनीहरूलाई मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामा र आस्क नेपालका प्रतिनिधिले कदरपत्रका साथ सम्मान गर्नुभएको थियो ।
वार्षिकोत्सबमा मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख वाइबाले किसानी पेशा अपमानित हुनुपर्ने अवस्थामा त्यसलाई न्यूनीकरण गर्नका लागि गरेको पहलले सार्थक रूप लिएको बताउनुभयो ।


“किसान ठगिएका छन्, बिचौलियाको मारमा परेका छन्, त्यो समस्या समाधान गर्न हाट बजारले सहयोग गरेको छ । बिक्रेताले काठमाडौंकै मूल्यमा नगरकोटमै तरकारी पाएका छन्,” उहाँले भन्नुभयो, “यो कामले किसानको सम्मान भएको छ ।” उहाँले किसानले उत्पादन गरेको तरकारी भण्डार गर्न नगरपालिकाले शीत भण्डार निर्माण गरेको जानकारी दिनुभयो । नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल बनाउनका लागि आफू प्रतिवद्ध रहेको पनि नगरप्रमुख वाइबाले बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले हाटबजारले तरकारी र अन्न उत्पादन गर्ने किसानले उचित मूल्य पाउन नसकेको र उपभोक्ताले महङ्गोमा किन्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उत्पादन वृद्धिका लागि किसानलाई आर्थिक रूपमा आत्मनिर्भर गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनमार्फत पनि किसानका लागि काम गर्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामाले किसानलाई उत्प्रेरित गर्नका लागि हाटबजार सञ्चालन गरिएको बताउनुभयो । उहाँले सो बजारलाई निरन्तरता दिने उल्लेख गर्दै घोषित नगरकोट भ्रमण वर्ष २०८२ लाई समेत टेवा पुग्ने बताउनुभयो ।
मण्डन देउपुर पिसिएफ समितिका प्रेमप्रसाद तिमल्सिनाले आस्क नेपालले किसानको जीवनस्तर उकास्न सहयोग गरेको बताउनुभयो । उहाँले नगरकोटमा हाटबजार सुरू भएपछि किसानको बजारको समस्या हल भएको बताउनुभयो । उहाँले तरकारी किनेर खाने किसानले समेत अहिले तरकारी उत्पादन गरि हाटबजारमा ल्याइ बिक्री गरेपछि तरकारी तथा अर्थमा आत्मनिर्भरता बढेको बताउनुभयो । यो एक वर्ष चलेको हाट बजारबाट किसानले ७५ लाख रूपैयाँ आम्दानी गरेको उहाँको भनाइ छ ।
आस्क नेपाल काभ्रेका शाखा प्रमुख बद्री माकले सबैको साथले हाटबजारले निरन्तरता पाएको जानकारी दिँदैं हाटबजारलाई थप व्यवस्थित गर्दै लग्ने र व्यावसायिक खेतीलाई प्राथमिकता दिने योजना रहेको बताउनुभयो ।
मण्डनदेउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका वडा नं. ६ र आपसी सहयोग केन्द्र (आस्क नेपाल) को संयुक्त आयोजना तथा पहलमा नगरकोटको मञ्जुश्री पार्कमा गत वर्ष २०८० साउन १९ गतेबाट सो हाट बजार सुरू गरिएको थियो । त्यसलाई मण्डनदेउपुर पिसिएस प्रमाणिकरण कृषक समूहले सहयोग गरेको थियो । हाटबजार साप्ताहिक रूपमा शुक्रबार विहान ३ घण्टा चल्ने गरेको छ ।
हाटबजारमा निरन्तर रूपमा तरकारी खरिद गरि बजार प्रवर्द्धनमा सहयोग गरेका होटल चौतारी, होटल ग्रिन भ्याली, होटल हिमालयन ग्लासियर, होटल भ्यू प्वाइन्ट, जिम्बु थकाली भान्सा घर, भिलेज भ्यू नगरकोट, माउन्ट एभरेष्ट , होटल मेरिगोल्ड, द फोर्ट रिसोर्ट, होटल सनसाइन र क्लब हिमालयनलाई सम्मान गरिएको थियो । साथै हाटबजारमा निरन्तर रूपमा तरकारी बेच्ने किसान र उत्कृष्ट किसानलगायतलाई सम्मान गरिएको थियो । प्राङ्गारिक खेती गरि उत्कृष्ट भएका किसानका साथै उत्पादनमा आधारित अनुदान पाएका किसानलाई पनि सम्मान गरिएको थियो ।
आस्क नेपालका अध्यक्ष रूकुमदत्त शर्मा पौडेल र आस्क नेपालका कार्यक्रम प्रमुख प्रल्हाद तिमल्सिनाले हाट बजारले ग्रामीण सशक्तीकरणमा टेवा पुगेको बताउनुभयो ।