मौलिक चावपर्वलाई संरक्षण गर्नुपर्छ – सांसद थापा

भक्तपुर, साउन १६
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अनावश्यक भोजभटेर कटौती गरेर मौलिक चावपर्व मनाई यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले साउन १५ को अवसरमा मंगलवार आयोजित खीर कार्यक्रममा सांसद थापाले पार्टीले खुशीयाली साटासाट गर्न र भेटघाटका लागि गरिने कार्यक्रमहरु चाडपर्वको अवसर पारेर गर्दा सुनमा सुगन्ध हुने बताउनुभयो ।

सल्लाघारीस्थित निर्माणाधीन पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सांसद थापाले मन खोलेर चाडपर्व मनाउन मातहतका समितिहरुलाई सुझाव समेत दिनुभयो । पर्वले पवित्र र उत्सवले उत्साहित बनाउने भन्दै उहाँले जनतासँगको सम्बन्ध खीरजस्तै मिठासपूर्ण बनाउन आफ्ना कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।


“असार १५ मा दहीच्युरा खाने, साउन १५ मा खीर खाने जस्ता पर्वले कृषिप्रधान देश नेपालको कृषि उत्पादन र प्रयोगमा जोड दिएको छ,” उहाँले भन्नुभयो, “यस्ता पर्वले मौसम अनुसार शरीरलाई आवश्यक पौष्टिक तत्व प्रदान गर्ने तथा नेपाली मौलिक पर्व र परम्परामा बैज्ञानिक आधार समेत भेटिन्छ ।” उहाँले यस्ता मौलिक पर्वहरु मनाउन भक्तपुर कांग्रेसले कुनै कन्जुस्याई नगर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा सभापति थापाले चाँगुनारायण–झौखेल–दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिवार सम्पन्न निर्वाचनबाट प्रधुम्न पोखरेलको नेतृत्वमा निर्वाचित उपलब्ध कार्यसमितिका पदाधिकारीलाई बधाई ज्ञापन तथा सम्मान गर्दै नेपाली कांग्रेसको बिचार बोक्ने पदाधिकारी निर्वाचित भएकाले सो समितिले सामुहिक हितमा केन्द्रीत रही कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।


त्यसैगरी कार्यक्रममा दधिकोट सहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित मन्दिरा बास्कोटा लगायतलाई पनि बधाई ज्ञापन गरिएको थियो । पार्टीको तर्फबाट उम्मेदवार रही पराजय भोगेका नेताकार्यकर्तालाई पनि सभापति थापाले निरन्तर सक्रियताको शुभकामना सहित खादा लगाई प्रोत्साहित गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदन कृष्ण श्रेष्ठ, जिल्ला कार्यसमितिका पदाधिकारी, क्षेत्रका पदाधिकारीहरु, नगरका पदाधिकारीहरु, बागमती प्रदेश सरकारकी पूर्व राज्यमन्त्री रजनी जोंछें, मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत र कविर राणा त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सस्थापक अध्यक्ष रमेश खड्का, पूर्व अध्यक्ष पुष्करराज बुढाथोकी लगायतको समेत सहभागिता रहेको पार्टी सचिव सुशिल बस्नेतले बताउनुभयो ।