श्री पद्य माविको भवन निर्माणका लागि संसदमा सांसद थापाले उठाए आवाज

भक्तपुर, साउन १५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरको जेठो विद्यालय श्री पद्य माविको भवन निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकको शुन्य समयमा सांसद थापाले २०७२ सालको भूकम्पले भत्काएको विद्यालय भवन अहिलेसम्म बन्न नसकेको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले एसईई नतिजामा सधै उत्कृष्ट नतिजा हासिल गर्दै आएको उक्त विद्यालयका विद्यार्थीहरुले जिर्ण भवनमा बसेर पठनपाठन गर्नुपरेको बताउनुभयो । यसअघि बागमती प्रदेश सरकारले विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेपनि निकासा नगरेको भन्दै उक्त विद्यालयको भवन अविलम्ब निर्माणको लागि आग्रह गर्नुभयो ।
“सुन्दा अचम्म लाग्न सक्छ । देशको राजधानीसँग जोडिएको भक्तपुर जिल्लामा सबैभन्दा जेठो स्कुल श्री पद्य हाइ स्कुल छ । वि. संं २००३ सालमा निर्मित उक्त विद्यालयको भवन ७२ सालको भूकम्पले तहसनहस भएको छ । तथापी पनि त्यहाँ पढाई भइरहेको छ । एसईईमा उत्कृष्ट नतिजा ल्याइरहेको छ,” उहाँले भन्नुभयो, “ त्यो भवन निर्माणका लागि विभिन्न दातृ निकायले सहयोग गर्छु भन्दा भन्दै पनि उक्त भवन अहिलेसम्म बन्न सकेको छैन । बागमती प्रदेश सरकारले २०७८÷०७९ को बजेटमा ७८ करोड रुपैंया विनियोजन गरेतापनि उक्त रकम निकासा हुन सकेन । म अविलम्व सम्बन्धीत निकायको ध्यानाकर्षण गर्न चाहन्छु । भक्तपुरकै जेठो विद्यालय जिर्ण बनेको छ । सम्बन्धीत निकायलाई यथाशक्य चाँडो उक्त विद्यालयको भवन निर्माणको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।”