कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत – अध्यक्ष बिजुक्छें

भक्तपुर, साउन ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउनुभएको छ । उहाँले नेपालको वर्तमान शिक्षाले पुँजीवादी व्यवस्थालाई टिकाइराख्न वा स्थायित्व दिन वर्तमान सहयोग गरेकोले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको बताउनुभएको हो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय र शारदा क्याम्पस माविमा कक्षा ११ अध्ययनको लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बिजुक्छेंले विद्यार्थीहरुलाई प्रगतिशील राजनीति गर्न विद्यालय तहदेखि नै प्रेरित गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरु अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै सरकारले युवाहरुलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म युवाहरुको विदेशिने क्रमलाई रोक्न नसकिने बताउनुभयो ।


विद्यार्थीहरु विदेशिने क्रम बढेसँगै नेपालका कलेजहरु बन्द हुने अवस्थामा पुगेको बताउँदै उहाँले विद्यार्थीहरुलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकहरुमार्फत मार्गनिर्देशन गरिरहनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा अध्यक्ष बिजुक्छेँले कलेजको प्रकाशन ‘ख्वप जर्नल भाग ६’ अनावरण गर्नुभएको थियो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५६ सालमा स्थापना भएको ख्वप माविको जगमा हाल ८ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा रहेको जानकारी दिँदैं विद्यार्थीहरुलाई योग्य र सक्षम बनाउने काममा ख्वप सर्कलका शिक्षण संस्थाहरुले निरन्तर पहल गरिरहेको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले विद्यार्थीहरुले आफ्नो कमजोरी र बलियो पक्ष पहिचान गरी आगामी बाटो तय गर्नुपर्ने बताउनुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवम् उपप्रमुख रजनी जोशीले शिक्षाकै माध्यमबाट समाजलाई बुद्धिजीवीकरण गर्न मद्दत पुग्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भटुटराईले ख्वप सर्कल एउटा पृथक उद्देश्य लिएर अगाडि बढेको सामाजिक संस्था भएको बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले एसईईमा प्राप्त अंकलाई अझ उच्च राख्न मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले विद्यार्थी जीवनमा जति व्यापक दृष्टिकोणले अध्ययन गरिन्छ त्यसले विद्यार्थीको व्यक्तित्व विकासमा कालान्तारसम्म सहयोगी भूमिका खेलिरहने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले विद्यालय तहमा गरिने मेहेनतले उनीहरुको भविष्य निर्धारण हुने बताउनुभयो ।
कार्यक्रममा ख्वप मावि र शारदा क्याम्पसका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले २०८१ मा ख्वप मावि र शारदा कलेजमा ५६ जिल्लाका १ हजार ६८० जना विद्यार्थीहरु भर्ना भएको तथ्यांक प्रस्तुत गर्नुभयो ।
प्रहरी निरीक्षक सानु श्रेष्ठले विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन, साइबर अपराध र यौनजन्य अपराधलगायतका कुलतबाट टाढा राख्न अभिभावक र कलेजले आवश्यक सचेतना कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा प्रा.डा. सिद्धिविर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी छात्रवृत्ति रकम रु. ४ लाख ४४ हजार ४४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गर्नुभएको थियो ।