टेकु अस्पतालबाट हैजाका तीन शंकास्पद बिरामी भागे

भक्तपुर, साउन ९
हैजाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा उपचार गराईरहेका ३ जना बिरामी अस्पतालबाट भागेका छन । उनीहरुलाई सोमवार अस्पतालमा भर्ना गरिएको थियो ।
तीन जना मध्ये दुई जना वार्डमा र एक जनाको आकस्मिक कक्षमा उपचार भइरहेको थियो । ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु ल्याइ निगरानीमा राखी थप उपचार भइरहेको थियो ।
भागेका तीन जना मध्ये ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक पुरुषलाई आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो ।
अस्पतालका निर्देशक डा. युवानिधि बर्सौलाका अनुसार ती तीनै जना सोमवार राती शौचालय जाने निहुँ पारेर भ्यालबाट भागेका हुन । उनीहरू अहिलेसम्म सम्पर्कमा आएका छैनन् । सुधार गृहमामा समेत उनीहरु नपुगेको बताईएको छ ।
तीनै जनाको कल्चर परीक्षण भइरहेको र केन्द्रका एक जनामा हैजा पुष्टि भएसँगै उनीहरुलाई पनि लक्षणको आधारमा हैजा हुनसक्ने आशंकामा टेकु ल्याएको डा. बसौलाले बताउनुभयो ।
भागेकाहरुमा पनि हैजा पुष्टि भए अरू व्यक्तिमा पनि सर्ने सम्भावना रहने भएकाले प्रहरीको सहयोगमा खोजी भइरहेको उहाँले बताउनुभयो ।
”इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), जनस्वास्थ्य कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय ललितपुरको समवन्यमा तीन युवाको खोजी भइरहेको छ“, उहाँले भन्नुभयो ।