पप सम्राट बिष्टलाई भक्तपुरमा सम्मान गर्ने

भक्तपुर, साउन ३
भक्तपुर सांगीतिक समाजले नेपाली पप सम्राट ओम विक्रम बिष्टलाई सम्मान गर्ने भएको छ । समाजले यही साउन ५ गते भक्तपुरमा आयोजना गर्न लागेको स्व. अरुण थापा स्मृति साँझमा बिष्टलाई सम्मान गर्ने भएको हो ।
समाजले गायक तथा संगीतकार स्व. अरुण थापाको स्मृतिमा सांगेतिक कार्यक्रम आयोजना गर्दै आएको छ । यसै सन्दर्भमा स्व.थापाको २५औं स्मृति दिवसमा यसवर्ष पनि स्व. अरुण थापा स्मृति साँझ हुन लागेको हो ।
करिव ५ दशक पप गायन विधामा सक्रिय रहनुभएका नेपाली पपस्टार एवम् वरिष्ठ पप गायक बिष्टले नेपालमा अनप्लग रेकर्डिङ पनि भित्र्याएका हुन । बिष्टले नेपाली पप संगीतमा पुर्याएको अतुलनीय योगदानलाई कदर गर्दै समाजले सम्मान गर्न लागेको समाजका अध्यक्ष अल्वर्ट बज्राचार्यले बताउनुभयो ।
समाजले थिमिको सिवर्ड इन्टरनेशनल कलेजमा यही साउन ५ गते शनिवार स्व. अरुण थापा स्मृति साँझ आयोजना गर्दैछ । कलेजकै सहकार्यमा हुने कार्यक्रमलाई मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिकाको सहयोग रहने बज्राचार्यले बताउनुभयो ।
कार्यक्रमको आधिकारिक अनलाइन मिडिया पार्टनर आइकन खबर डटकम, आधिकारिक टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, आधिकारिक रेडियो पार्टनर भक्तपुर एफएम र आधिकारिक फोटोग्राफी पार्टनर बालकृष्ण फोटोग्राफी र मेडिकल पार्टनर आयु स्पेशालिटि क्लिनिक रहने छन्।
कार्यक्रममा विभिन्न गायक गायिकाले गायक थापाका गीतहरु प्रस्तुत गर्दै उनलाई श्रद्धाञ्जली ब्यक्त गरिनेछ । उक्त स्मृति दिवस कार्यक्रममा गायक थापाका संगीत सारथीहरू, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिति रहने समाजका अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो ।