लक्ष्मी गारु, भक्तपुर, असार ५
मनसुन भित्रिएसँगै परेको अविरल वर्षाले खेतका गरागरामा पानी जमेपछि भक्तपुरका किसानहरुलाई रोपाईंको चटारो परेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपनि खेती किसानी गर्ने कार्यलाई प्रशासनले सहजीकरण गर्ने निर्देशन दिएसँगै किसानहरु निर्धक्क रोपाईंमा व्यस्त भएका छन ।
जेठको अन्तिम सातादेखी वर्षा हुन थालेपछि असारको पहिलो साता नै भक्तपुरका अधिकांश स्थानमा खेतका गराहरुमा किसानहरुको मेला जस्तै लागेको छ । कोही खेत खन्ने, कोही बाउसे गर्ने, कोही बिउ काढ्ने, कोही रोपाईं गर्ने, रोपाईंको मनमोहक दृष्य देख्न पाईन्छ । रोपारहरुले असारे भाकामा लोकगित गाउनु, बाउसेहरुले हिलो छ्यापाछ्याप गर्नु, व्याडेहरुले रोपारहरुले गाएको भाका छोप्दै बिउ काढ्नु, बेठी गाउनु, लाठेहरुले गोरु जोत्नु र अन्तमा नाचगान गरेर रमाइलो गर्नु रोपाईं संस्कृति हो । तर अचेल काँठ क्षेत्रमा असारे भाका र रोपाईं संस्कृति बिस्तारै लोप हुँदैं गएको संस्कृतिकर्मीहरु बताउँछन ।
बढ्दो शहरीकरण, बेमौसमी नगदे बालीको बिस्तार र जग्गा प्लटिङ गरेर बाँझो राख्ने प्रवृत्तिले वर्षेनी धान खेती घट्दै गएपनि भक्तपुरमा रोपाईंको रौनक भने नघटेको किसानहरु बताउँछन । वर्षको एक पटक हिलो खेल्नुपर्छ भन्ने परम्परागत मान्यताले पनि युवा पिँढी हिलोसँग पौंठेजोरी खेल्नकै लागि भएपनि रोपाईंमा जुट्ने भएकाले रोपाईंको रौनक घट्न नपाएको संस्कृतिविदहरुको भनाई रहेको छ ।
काठमाण्डौं उपत्यकामा नेवार समूदायमा रोपाईंको छुट्टै पहिचान झल्कने संस्कृति रहेको छ । नेवारी लोकभाका गाउँदैं एक आपसमा हिलो छ्यापाछ्याप मात्र होईन साँधेको आलुसँगैं सगुनको रुपमा थ्ओं (जाँड) सेवन गरेर रमाइलो गर्ने र खेतका आलीमा बसेर भोज खाने प्रचलन नेवारी समूदायमा रहेको छ । यस्ता मौलिक परम्परा भने अचेल हराउँदै गएको छ । तथापी रोपाईंलाई महोत्सवको रुपमा मनाउने प्रचलन यदाकदा देख्न पाईन्छ । रोपाईंको मौलिक परम्परा हराउँदै गएपनि यसकोे रौनक भने वर्षेनी बढ्दै जान थालेको छ ।
भक्तपुरका अधिकांश स्थानमा धान खेती गरिन्छ । तर बढ्दो शहरीकरणले खेतीयोग्य जमिन घट्दै गएपनि सुडाल, ताथली, चित्तपोल, सिपाडोल, गुण्डु, सिरुटार, दधिकोट, दुवाकोट, चाँगुनारायण, बागेश्वरी, छालिङलगायतका ग्रामिण भेगमा भने अझै प्रशस्त धानखेती गरिन्छ ।
भक्तपुरका अधिकांश स्थानमा आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्था छ । परम्परागत राजकूलोहरु मासिँदैं गएकोले पनि धानखेतीका लागि आकासे पानीको भर पर्नुपर्ने अवस्था छ । जिल्लाको दुई मुख्य नदी हनुमन्ते र मनोहराका साथै यसका सहायक खोलानाला नजिकका फाँटहरुमा भने वाटर पम्पसेटको सहायताले सिचाई गरेर किसानहरुले रोपाईं गर्ने गरेका छन ।
धानबाली नेपालको मुख्य अन्नबाली हो। भक्तपुरमा प्रतिहेक्टर ६ टन धान उत्पादन हुने तत्कालिन कृषि कार्यालयको तथ्यांक रहेको छ ।