डोलेश्वरमा श्रावणी मेला शुरु

भक्तपुर, साउन २
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेला मंगलवारबाट शुरु भएको छ । स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरदेखी डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरि डोलेश्वरको श्रावणी मेला शुरु गरिएको हो ।
मेला व्यवस्थापनका लागि स्थानीय युवा क्लव, महिला समूह, स्थानीय टोल सुधार समिति, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाईटी, सामूदायिक वन समिति तथा विभिन्न संघसंस्थाहरुले स्वय्मसेवकका साथै भक्तजनको सहजताको लागि काम गर्ने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले बताउनुभयो ।
मेलामा सुरक्षा व्यवस्था जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती डोलेश्वर प्रहरी चौकीले गरिरहेको छ । यातायात र पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरी परिसर भक्तपुरसँग आवश्यक समन्वय गरिएको जानकारी दिँदैं महासचिव बस्नेतले स्वास्थ्य शिविर नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक र विभिन्न अस्पतालले सञ्चालन गर्ने जानकारी दिनुभयो ।
मेला अवधीभर प्रत्येक सोमवार र शनिवारका दिन विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन र कलाकारहरुद्धारा भजनकृतन तथा प्रस्तुती हुनेछ । विशिष्ट व्यक्तिहरुको आतिथ्यतामा विमला गंगा आरती हुने समितिका अध्यक्ष धर्मराज बस्नेतले बताउनुभयो ।


मेलामा संभावित भक्तजनको भिड व्यवस्थापन गरी छिटो छरिटो दर्शनका लागि कुपनको व्यवस्था गरिएको र ढिलामा आधा घण्टामा दर्शन गर्न सकिने व्यवस्था गरिने अध्यक्ष बस्नेतले बताउनुभयो ।
साउन महिना भगवान महादेवको प्रिय महिना भएकोले डोलेश्वरमा साउन १ गतेदेखी भदौ ६ गतेसम्म श्रावणी मेला लाग्दै आएको छ । डोलेश्वरलाई २०६६ भदौ ६ गते भारतको उत्तराखण्डमा अवस्थित केदारनाथको शिर भाग भएको घोषणा गरिएको हो । पछिल्लो समय डोलेश्वरमा दैनिक सयौंको संख्यामा भारतीय भक्तजनहरु आउने गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिनेछ ।
यसैबीच आशापुरी महादेव मन्दिरमा पनि पूजा पाठ, रुद्री, होम गर्ने र साउन महिनामा व्रत बस्ने महिला दर्शनार्थीको भीड लागेको छ । यहाँ भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रे जिल्लाका अलवा मुलुुकका बिभिन्न भाग तथा ठुुलो संख्यामा भारतीय तिर्थयात्रीसमेत आउने गर्दछन् ।