कृषि विकास सहकारी र समिट अस्पतालका अध्यक्ष थापा दम्पती पुर्पक्षका लागि थुनामा

फाइल तस्विर

भक्तपुर, असार २७
जिल्ला अदालत ललितपुरकृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम् समिट अस्पतालका सञ्चालक तेजबिक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकार पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
न्यायाधीश धनिश्वर पौडेलको इजलासले बिहिवार उनीहरुलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका एक अधिकारीले जानकारी दिए । त्यस्तै सहकारीका सदस्यद्वय भीमसेन महर्जनलाई १५ लाख र सञ्जय सापकोटालाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न पनि आदेश दिएको छ ।
कृषि विकास बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तर ४ जना मात्र पक्राउ परेका छन् । अन्य ७ जना फरार सुचीमा छन भने कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेका छ ।
फरार प्रतिवादीहरूमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारी छन ।
त्यसैगरी सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।