सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने सरकारको निर्णय

भक्तपुर, असार २७
सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने निर्णय हाललाई स्थगित गरेको छ । मन्त्रिपरिषदको बिहिवार सिंहदरवारमा बसेको बैठकले देशका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण रााष्ट्रिय परिचय पत्र बनाउन असहज हुने परिस्थितिमा तत्कालका लागि राष्ट्रिय परिचय पत्र लागु नगर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय प्ररिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।
यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । उक्त सूचना अनुसार सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न १ साउनदेखि नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने हुन्थ्यो ।
जस अनुसार सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा, पेन्सन लिन, कर तिर्न, सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरणमा समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।
सरकारको उक्त निर्णयको देशव्यापी विरोध भएको थियो । विशेष गरी सामाजिक सुरक्षा भत्ता रोकिने भएपछि राष्ट्रिय परिचय पत्र बनाउन ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नु परेको थियो ।