जनशक्ति अभावले राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती

भक्तपुर, असार २७
सरकारले सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ । असारको झरीमा पनि ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्रका लागि स्थानीय पालिकाको कार्यालयमा धाउन बाध्य भएका छन ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले ज्येष्ठ नागरिकहरुको सहजताका लागि पालिकाहरुमा राष्ट्रिय परिचयपत्रका लागि बुथ स्थापना गरेपनि प्रयाप्त जनशक्ति नहुँदा उनीहरुले सास्ती व्यहोर्नु परेको हो ।
राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्ने, रुजु गर्ने, बायोमेट्रिक लिन र फोटो खिच्नको लागि एक जनामा कर्मचारी खटिनु र एक दिनमा ४० वटा भन्दा बढी फाराम नभर्नुले ज्येष्ठ नागरिकहरुले थप सास्ती खेप्नु परेको सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका स्थानीय एवम् नेपाल पत्रकार महासंघ भक्तपुरका संस्थापक सभापति रमेश खड्काले बताउनुभयो ।
खड्का अनुसार परिचयपत्र बनाउन ज्येष्ठ नागरिकहरु दिनभरी पालिकामा पालो कुरेर बस्नुपर्ने, ४० वटा भन्दा बढी फाराम नभर्ने भएपछि पुनः अर्को दिन धाउनुपर्ने जस्ता समस्या ज्येष्ठ नागरिकहरुले व्यहोर्नु परेको छ ।
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले सामाजिक सुरक्षा भत्ता लिइरहेका ज्येष्ठ नागरिकहरुको सुविधाका लागि भएका जनशक्तिको व्यवस्थापन गरी जिल्लाको चार वटै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि बुथ स्थापना गरेको बताउनुभयो ।
उहाँले जिल्लाको मध्यपुर थिमि, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकामा बुथ स्थापना गरी कर्मचारी खटाएको जानकारी दिनुभयो । विभागबाट थप जनशक्ति व्यवस्था भए बुथमा पनि थप कर्मचारी पठाउन सकिने उहाँले बताउनुभयो ।
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले राष्ट्रिय परिचयपत्रको बुथमा नगरपालिकाले सहयोगी खटाएर सहयोग गरिरहेको बताउनुभयो । उहाँले प्रशासनले अनुमती दिए थप जनशक्ति परिचालन गर्न सकिने बताउँदैं भिडभाड हुन नदिन र ज्येष्ठ नागरिकहरुको सहजताको लागि नगरपालिकाले नगरका १० वटा वडालाई गते अनुसार पालो निर्धारण गरेर तालिका प्रकाशन गरिएको जानकारी दिनुभयो ।