नेदरल्याण्ड्सलाई पराजित गर्दै इङ्ल्यान्ड युरो कपको फाइनलमा प्रवेश

भक्तपुर, असार २७
नेदरल्याण्ड्स विरुद्ध पुनरागमन जित निकाल्दै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । जर्मनीको डर्टमुण्डमा मंगलवार राती सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्ल्यान्ड नेदरल्याण्ड्सलाई २–१ गोल अन्तरले पराजित गर्दै युरो कपको फाइनल प्रवेश गरेको हो ।
खेलमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो । जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इङ्ल्यान्डका मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए ।


इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी ग¥यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि डी बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए । जर्मनीका रेफ्री फेलिक्स ज्वायरले भिडियो असिस्टेन रेफ्री (भिएआर)को मद्दत लिँदै इङ्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए । योसँगै डम्फ्रिजले पहेंलो कार्ड पाए ।
खेल बराबरीतर्फ उन्मुख भएको बेला दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्ल्यान्डलाई जित दिलाए । उनले कोल पाल्मरको पासमा गोल गरेका हुन् । ओली र कोल दुवै ८१औं मिनेटमा मैदान प्रवेश गरेका थिए । उनै दुई जनाको योगदानमा नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको हो ।
इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ । स्पेन मंगलवार राती सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्स विरुद्ध २–१ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो ।