कृषि विकास सहकारी र समिट अस्पतालका अध्यक्ष थापासहित १२ जना विरुद्ध १ अर्ब ठगीको मुद्दा

फाइल तस्विर

भक्तपुर, असार २६
कृषि विकास बहुउदेश्यीय सहकारी र मध्यपुर थिमि १, लोहकिल्थलीको समिट अस्पतालका अध्यक्ष तेजविक्रम थापासहित १२ जना विरुद्ध एक अर्ब रकम अपचलन गरेको अभियोगसहित ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले दायर गरेको मुद्दामा तनहुँको ब्यास नगरपालिका–११ घर भई काठमाडौंको गोकर्ण बस्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् समिट अस्पतालका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सहकारीका सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई प्रतिवादी बनाईएको छ ।
उनीहरुलाई गत असार १ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो ।
ललितपुर प्रहरीले २५ लिन लामो अनुसन्धानपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाइएकोमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताउनुभयो ।
उक्त मुद्दामा पक्राउ परेका चार बाहेक अन्यलाई फरार प्रतिवादी बनाइएको छ । फरार प्रतिवादीहरूमा सहकारीका उपाध्यक्ष ५१ वर्षीय उमेशजंग थापा, सचिव ४२ वर्षीय कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य ४२ वर्षीय विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक ३५ वर्षीय पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य ४४ वर्षीय राज श्रेष्ठ र ४२ वर्षीय विकेश ताम्राकार र महाप्रबन्धक ३६ वर्षीय सन्तोषराज भण्डारी छन ।
त्यसैगरी सहकारीका कोषाध्यक्ष ४७ वर्षीय निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ ।
यो समूहले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेको थियो । सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै सहकारी ठगीको कसुरमा मुद्दा दर्ता भएको छ ।
मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ अन्तर्गतको ठगी कसुरमा मुद्दा दर्ता गरिएको छ । उक्त कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
त्यसैगरी ललितपुर प्रहरीले सहकारी ठगीको कसुरमा पक्राउ परेकाहरूको सम्पत्ति रोक्काका लागि समेत पत्राचार गरिसकेको छ ।
मुद्दा दर्ता गरिएकाहू मध्ये तेजविक्रम र सजना श्रीमान–श्रीमती हुन् । श्रीमान तेजविक्रम अध्यक्ष र उनकी पत्नी सजना व्यवस्थापकको जिम्मेवारीमा थिए । बचतकर्ताको रकम फिर्ता नभएपछि सहकारी विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई २५ असोजमा पत्राचार गर्दै कारबाही गर्न भनेको थियो ।
उक्त सहकारीको कार्यालय ललितपुरमा रहेको भन्दै सीआईबीले २६ मंसिरमा जिल्ला प्रहरी परिसर ललितपुरलाई अनुसन्धान अघि बढाउन पत्राचार गरेको थियो ।
अध्यक्ष तेजबिक्रम थापासहित १३ जनाविरुद्ध १९ पुस २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । पुर्जी जारी भएका मध्ये अहिले चार जना मात्रै प्रहरी हिरासतमा छन् ।
आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर यो समूहले बचत रकम अपचलन गरेको थियो । प्रहरीका अनुसार वचतकर्ताको रकम टीभीदेखि अस्पतालमासम्म सञ्चालन गरेर अपचलन गरेको पाइएको छ । मुख्यगरी थापाले सहकारीको रकम लगेर टीभी खोल्नेदेखि मार्ट र अस्पतालसम्म लगानी गरेको पाइएको प्रहरीले जनाएको छ ।
थापाले २०५६ सालमा कृषि विकास सहकारी संस्थाको चिफ अकाउन्टेन्ट भएर काम गरेका थिए । २०६० सालमा भने उनी सहकारीको कार्यकारी अध्यक्ष पदमा निुयक्त भएका थिए । त्यसपछि उनले बचतकर्ताको रकम हिनामिना गर्न सुरु गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।
उनी २०७१ सालमा खुलेको कृषि टेलिभिजनको अध्यक्ष बने । त्यसको २ वर्षपछि २०७३ सालमा उनीसमेतको लगानीमा गोर्खा टेलिभिजन सञ्चालनमा आयो । पछिल्लो समय उनले गोर्खा टीभीकै आईडी कार्ड प्रयोग गरिरहेका थिए ।
२०६६ सालमा भक्तपुरको लोकन्थलीमा खुलेको समिट अस्पतालको अध्यक्ष पनि थापा नै छन् । यो अस्पताल पनि सहकारीकै रकम अपचलनबाट खुलेको प्रहरीको दाबी छ ।
२०७१ सालमै उनी इन्टेन्सिभ एग्रिकल्चर कम्पनी प्रालि ललितपुरका अध्यक्ष बनेका थिए । २०७४ मा यति हब्र्स प्रालिको अध्यक्ष बने । थापाले कृषि इन्भेस्टमेन्ट प्रालिको नाममा काठमाडौं उपत्यकाका १४ ठाउँमा मार्ट समेत खोलेको पाइएको छ ।