दुई वटा स्कुटी ठक्कर खाँदा एक जनाको मृत्यु

भक्तपुर, असार २५
भक्तपुरमा मंगलवार बिहान दुई वटा स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनाउक नगरपालिका–७ गुण्डु तिनधारे नजिक सुवर्णेश्वरबाट काठमाण्डौ वल्र्ड स्कुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प. १७४८ नं. को स्कुटी र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०१७ प. ५०१२ नं. को स्कुटी एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बागमती प्रदेश ०२–०२२ प. १७४८ नं. को स्कुटी चालक जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २२ वर्षिय राजाराम थापा मगर हुन । दुर्घटनामा गम्भिर घाईते भएका थापा मगरलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
दुर्घटनामा घाईते अर्को स्कुटी चालक सूर्यविनायक नगरपालिका–७ गुण्डु मगर गाँउ बस्ने ४९ वर्षिया पार्वती नगरकोटीको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको छ । दुई वटै स्कुटी प्रहरी वृत्त जगातीमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।