मध्यपुर थिमिका सामूदायिक विद्यालय मध्ये एसईईमा आदर्श मावि सानोथिमि उत्कृष्ट

भक्तपुर, असार १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका भित्रका सामूदायिक विद्यालयहरु मध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा आदर्श माध्यामिक विद्यालय सानोथिमिले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
शिक्षा शाखाका अनुसार परीक्षामा आदर्श मावि सानोथिमिबाट एसईईमा १३८ जना सहभागी भएका थिए । ती मध्ये ११९ जना उत्तीर्ण भएका छन, जुन ८६ दशमलब २३ प्रतिशत हो । सो उत्तीर्ण प्रतिशतका आधारमा उक्त विद्यालयले नगरपालिका भरमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।
त्यसैगरी नगदेशको गणेश माध्यमिक विद्यालयमा ७३ दशमलब ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सो विद्यालयबाट ६४ जना विद्यार्थी सहभागी भएका थिए ।
आदर्श मावि लायकू थिमिबाट ७८ जना सहभागी भएकामा ५३ दशमलब ८४ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ । यसैगरी बालप्रेमी माविबाट ४३ दशमल २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सो विद्यालयबाट एसईईमा ३७ जना सहभागी भएका थिए ।
यता बोदे माविबाट ६८ जना सहभागी भएकामा १६ दशमलब १८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । मध्यपुर थिमिमा सबै भन्दा खराव नतिजा जनक सिद्धिकाली माविको रहेको छ । उक्त विद्यालयबाट ११ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा जम्मा २ जना मात्र उत्तीर्ण भएका छन । प्रतिशतको हिसाबले उक्त विद्यालयका १८ दशमलब १८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण छन् ।
मध्यपुर थिमि नगरपालिकाको ६ वटा सामूदायिक माध्यमिक विद्यालयबाट एसईई २०८० मा कूल ३९६ जना विद्यार्थी सहभागी भएकामा परीक्षामा २३७ अर्थात् ५९दशमलब ८४ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । परीक्षाफल अनुसार ४० दशमलब १५ प्रतिशत अर्थात् १५९ जनाको ननग्रेड आएको छ ।