धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन प्रविधि आवश्यक – डा. राणा

भक्तपुर, असार १५
नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि समितिका सभापति डा. आरजु राणाले धानको उत्पादन बृद्धिका लागि जलवायु अनुकुलन हुने प्रविधि विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । २१ औं राष्ट्रिय धान दिवसको अवसरमा नेपाल किसान महासंघ भक्तपुरले सल्लाघारीमा आयोजित रोपाईं कार्यक्रममा डा. राणाले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले बंगलादेशले धान उत्पादनमा गरेको प्रगतीबाट नेपालले सिक्नुपर्ने बताउनुभयो । “बंगलादेशले थोरै जमिनमा धेरै उत्पादन हुने प्रविधिबाट धानमा आत्मनिर्भर भई निर्यात समेत गर्न सफल भएको छ । त्यसबाट नेपालले सिक्नुपर्छ,” उहाँले भन्नुभयो ।


उहाँले नेपालमा नार्क जस्तो अनुसन्धान गर्ने निकाय भएपनि राजनैतिक हस्तक्षेपका कारण आशातित सफलता पाउन नसकेको बताउँदैं त्यस्ता निकाय स्वतन्त्र र राजनैतिक हस्तक्षेप मुक्त हुनुपर्ने धारणा राख्नुभयो ।
कृषकलाई समयमा मलखाद उपलब्ध गराउन सरकारको ध्यानकर्षण गराउँदैं उहाँले नेपालमा जमिन बाँझो राख्ने प्रवृत्ति बढेको कारणले पनि धान उत्पादनमा कमी आएको बताउनुभयो । “एकातर्फ धानको खपत बढेको छ, अर्कोतर्फ जमिन बाँझो राख्ने प्रवृत्ति बढ्दो छ । यसले पनि माग र आपुर्तीको असन्तुलन बढेको हो,” उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले धान उत्पादन बृद्धिका लागि उन्नत जातको धानको बिउ किसानलाई सरकारले समयमा उपलब्ध गराउने र आवश्यक सिचाईंको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।


नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले नेपालमै मल उत्पादन नभएसम्म किसानले समयमा मलखाद पाउन नसक्ने बताउनुभयो ।
उहाँले पार्टीको संगठनमा कुनै कमीकमजोरी नहुने विश्वास दिलाउँदैं सबैलाई एकतावद्ध भएर लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सम्मुनत नेपाल निर्माणमा सबैले आ–आफ्नो स्थानबाट योगदान पुर्याउन निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा नेपाल किसान महासंघ भक्तपुरका सभापति ईन्द्रबहादुर प्रजापतिले ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारालाई व्यवहारमा उतार्न सके नेपाल धानमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।