चिनियाँ प्रतिनिधिमण्डल भक्तपुरमा

भक्तपुर, असार ३
चिनिया जनराजनैतिक परामर्शदातृ सम्मेलन, राष्ट्रिय समिति (सीपीपीसीसी)का उपाध्यक्ष वाटर नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार भक्तपुर दरवारस्क्वायरको भ्रमण गरेको छ ।
चार दिने नेपाल भ्रमणमा आएका वाटर नेतृत्वको टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबारस्क्वायर क्षेत्र, पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । टोलीले भक्तपुरको स्थानीय उत्पादन र मृतिका कलाबारे चासो व्यक्त गरेका थिए ।


टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले स्वागत गर्नुभएको थियो । टोलीको स्वागतमा भक्तपुर नगरपालिकाले परम्परागत नाचसहितको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
सो अवसरमा उपाध्यक्ष वाटरले भक्तपुरको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको बताउनुभयो । उहाँले जीवन्त नगरको अवलोकन भ्रमण गर्न पाउँदा निकै गौरवको अनुभूति भएको बताउँदै चीन–नेपालबीचको मित्रता अमर रहने विश्वास व्यक्त गर्नुभयो ।


भ्रमण टोलीमा सीपीपीसीसीका छि चाल, एवई च्यून, वन सु का, यान च्यूए, वाङ चोयी, लीन मियाओलगायतको सहभागिता रहेको थियो भने टोलीको स्वागतमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।