कृषि सहकारी र समिट अस्पतालका सञ्चालक थापासहित ४ जना पक्राउ

फाइल तस्विर

भक्तपुर, असार २
मध्यपुर थिमि–३ गठ्ठाघरमा कार्यालय रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवम् मध्यपुर थिमि–१ लोहकिल्थलीमा अवस्थित समिट अस्पतालका सञ्चालक तनहुँका तेजविक्रम थापासहित ४ जनालाई सहकारीको रकम अपचलन गरी वचतकर्ताहरुलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तनहुँका थापासहित सहकारीका व्यवस्थापक काठमाण्डौं गोकर्णेश्वर बस्ने ४४ वर्षिया सजना राजकर्णिकार, सहकारीका सदस्यहरु काठमाण्डौं कीर्तिपुरका ५३ वर्षिय भिमसेन महर्जन र काठमाण्डौं चाबहिलका ४७ वर्षिय सञ्जय सापकोटा रहेका छन । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन् । उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन् । जसबाट ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप उनीहरूमाथि छ ।
त्यस्तै सहकारीका पीडित वचतकर्ताहरु २ हजार ५ सय ३१ जना रहेको र सहकारीमा निक्षेप २ अर्ब ८० करोड रहेको प्रहरीले बताएको छ ।
पक्राउ परेका थापा दुई वटा बैंकिङ कसुरमा कारबाहीमा परेको र तीन वटा कसुरमा फरार रहेको प्रहरीले जनाएको छ । थापामाथि जिल्ला प्रहरी परिसर काठमाण्डौंमा २६ लाख ६६ हजार ६६६ रुपैंयाको बैंकिङ कसुर मुद्दाहरु रहेका छन् ।
थापा २०७९ चैत ८ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट बैंकिङ कसुर मुद्दामा कारबाहीमा परेका थिए । त्यतिबेला उनीविरूद्ध २६ लाख ६६ हजार ६६६ रुपैयाँ ठगेको आरोप थियो । २०८० वैशाख २९ गते पनि उनी कारबाहीमा परेका थिए । यस्तै प्रकृतिको तीन वटामा भने फरार रहेका थिए ।

सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्ने उजुरी सहकारी विभाग नयाँ बानेश्वरमा परेको थियो । विभागले गत २०८० असोज २५ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो । ब्युरोले अनुसन्धानका लागि २०८० मंसिर २६ गते जिल्ला प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो । अनुसन्धान गरी परिसरले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका अध्यक्ष थापा र राजकर्णिकार लामो समयसम्म फरार भएपछि पीडितहरूले उनीहरूको तस्बिर राखेर विभिन्न ठाउँमा सूचना टाँसेका थिए । उनीहरूले फ्लेक्समा भएका व्यक्तिहरूलाई कतै देखिएमा १०० मा सम्पर्क गरी जानकारी गराउन भनेर अनुरोध गरिएको थियो ।
थापा १७ वर्षको उमेरदेखि नै सहकारीमा सहभागी भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । प्रहरीको अनुसन्धानबाट उनी झन्डै एक दर्जन कम्पनीमा अध्यक्ष रहेको देखिन्छ ।
प्रहरीका अनुसार थापा २०५६ सालदेखि कृषि सहकारी संस्थाको चिफ अकाउण्टेण्ट र संस्थापक सदस्य, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष, २०६६ सालदेखि समिट अस्पताल लोहकिन्थलीको अध्यक्ष, २०७० देखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेशन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हब्र्स प्रा.लि.को अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेष्टमेण्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ ।
उनीहरुको साथ बाट मोबाइल ६ थान, पेन ड्राइभ ३ थन, हस्ताक्षर सहितको चेक ३ थान, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यति टेक्निक फार्मको छाप एक थान बरामद भएको प्रहरीले बताएको छ ।
यसैगरी थापाले साझा संसार मिडिया प्रालि लिमिटेडको आइडी कार्डमा अर्कै व्यक्तिको नाममा आफ्नो फोटो राखेर हिँडेको पाइएको छ । ‘कसैले तेजबिक्रम भनेर चिने आइडी कार्ड देखाएर झुक्याउनका लागि उनले यसरी अर्कै व्यक्तिको नाम राखेको पायौं,’ एसएसपी भट्टराईले भन्नुभयो ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान गर्न कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।