आर्थिक ऐनले दिएको सुविधा उपभोग गर्न व्यवसायीलाई कर अधिकृतको आग्रह

भक्तपुर, जेठ ३२
भक्तपुर उद्योग वाणिज्य संघले बिहिवार उद्योगी व्यवसायीहरुलाई ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं समसामयिक करका विषयमा अन्तरक्रिया गरेको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आयोजित उक्त अन्तरक्रियामा प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले ऐनले प्रदान गरेका घरका छुट सुविधा र अन्तःशुल्क, आयकरलगायतका विषयमा पनि जानकारी दिनुभएको थियो ।
कार्यक्रममा गौतमले राज्यले दिएका करका छुट एवम् सुविधाकाबारेमा छानकारी दिँदैं ती सुविधा उपभोग गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
गौतमले राज्यको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ठूलो रहेको भन्दै राज्यलाई तिर्नुपर्ने कर जरिवाना लाग्नु अघि नै समयमै तिरेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
“जिल्लामा अझै पनि व्यवसाय दर्ता नगरी कारोवार गर्ने व्यवसायीहरुको संख्या धेरै रहेको छ । कानुनले मैल जानिन भनेर छुट दिँदैन । त्यसैले समयमा व्यवसाय दर्ता गरौं र समयमा कर तिरेर जरिवानाबाट बचौं,” उहाँले भन्नुभयो । उहाँले व्यवसाय दर्ता गरेर कारोवार गर्नेमध्ये पनि ५० प्रतिशतभन्दा बढी व्यवसायीहरुले आय विवरण नबुझाउने गरेकोमा भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपस्थित उद्योगी व्यवसायीहरुले करका विषयमा विविध जिज्ञासा राख्नुभएको थियो । ती जिज्ञासाको समाधान प्रमुख कर अधिकृत गौतमले दिनुभएको थियो ।
संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले आर्थिक ऐनमा उपलब्ध सेवा सुविधाहरुका साथै नीति नियमहरु बारेमा जानकार नहुँदा अधिकांश उद्योगी व्यवसायीहरुले अञ्जानमा जरिवाना तिर्नुपर्ने अवस्था रहेको हुनाले कर बारेमा सुसूचित गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यस किसिमका कार्यक्रमले उद्योगी व्यवसायीहरुमा रहेको कर सम्बन्धी अन्यौलतालाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष दिनेश गोसाईंलगायतले कर तिर्नु सबै नागरिकको दायित्व रहेको भन्दै कर करले होइन रहरले तिर्ने वातावरण राज्य पक्षबाट बनाउनुपर्नेमा जोड दिनुभयो ।