भक्तपुर, मंसिर ११
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा नेवार समूदायले आज सोमवार सकिमना पुन्ही पर्व मनाउँदैछन । सकिमना पुन्ही नेपाल संवतको पहिलो पूर्णिमा हो । यस पर्वमा विशेष गरी पिँडालु उसिनेर खाने भएकाले नेवार समूदायले पिँडालु अर्थात सकिमना पुन्हीका नाममा यो पर्व मनाउँदैं आएको हो । ‘सकि’को अर्थ पिँडालु र ‘मना’को अर्थ उसिन्नु हो ।
सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन खलः, दाफा भजन खलःहरुले विशेष पर्वको रुपमा मनाईन्छ । अन्यले घरघरमा पिँडालु उसिनेर खाई यो पर्व मनाउँछन ।
यो पर्वमा कोजाग्रत पूर्णिमाको दिन शुरु गरेको एक महिने रात्रीकालिन भजन किर्तनलाई समापन गर्ने दिनको रुपमा पनि लिईन्छ । यस अवसरमा भजन खलःहरुले साँझ आ–आफ्नो ईष्ट देवको मन्दिर प्रांगणमा नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण)बाट विभिन्न देवी देवता र मन्दिरका आकृति निर्माण गरी प्रदर्शन गर्ने र भजन किर्तन सकिएपछि त्यही नसाबजी प्रसादको रुपमा बाँडेर खाने प्रचलन रहेको छ । यसअघि भजन खलःहरुले आ–आफ्नो परम्पराअनुसार भोज खाने प्रचलन रहेको छ ।
नेवार समुदायमा आ–आफ्नो टोल टोलमा रहेका दाफा भजन खलःले नसाबजीबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवानको आकृति बनाउँछ । आकृति बनाउँदा गहुँ विछ्याएर ताय (धानको लावा) र कालो भटमासले भगवानको स्वरुप बनाउँछ । त्यसलाई चारैतिर भुटेको मकैले घेरा बनाउँछ । त्यसमाथि पुरी र माल्पुवाले घेरेर फुलको मालाले श्रृंगारपटार गरी दक्षिणा चढाई दियो बालेर भजन किर्तन गाउने गर्छ ।
कोजाग्रत पुर्णिमाको दिनदेखि दैनिक रुपमा हुने भजन किर्तन समापन हुने भएकोले नेवार समुदायमा प्रत्येक घरमा एक एक जना ब्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गई पुजा चढाउँछन् । पुजामा माल्पुवा, पुरी, नसाबजी, गाईको दुधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खर खण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायण देवतालाई प्रसादको रुपमा चढाउँछन् ।
यसरी पुजा चढाउँदा प्रसादका रुपमा मन्दिरबाट नसा लिएर आउने गर्छ । साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुल्सीलाई गाईको दुध अध्र्य दिई प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ । मन्दिरबाट ल्याएको प्रसाद स्वरुप नसा राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, माल्पुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा पनि रहको छ ।
ऋतु अनुसारको भोजन भगवानलाई प्रसादको रुपमा चढाएर मात्र खाने पर्वको रुपमा सकिमना पुन्हीलाई लिने गरिन्छ । पुन्हीको दिन विषेशगरी नारायणको पुजाआराधना गरिने हुनाले नेपाल सम्वतको बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायणलगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तीका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।
वर्षभरीको बाह्रवटा महिनाको प्रत्येक पुन्हीमा भगवानलाई फरक फरक भोजन प्रसादको रुपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृति अनुसार कार्तिक शुक्ल पुन्हीको दिन कण्डमुल, खिर र नसाबजीलाई प्रसादको रुपमा भगवानलाई चढाइने संस्कृतिकर्मीहरु बताउँछन् ।
नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन पिँडालु, सख्खर खण्ड, नसा लगायतका भोजन प्रसादको रुपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा.डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुभयो । यसले शरिरमा ताकत दिनुका साथै शरिर स्वस्थ हुने जनविश्वास रहेको उहाँको भनाई छ ।
अन्नपातबाट बनाएको भगवानको आकृतिबाटै मठमन्दिर तथा भगवानको मुर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताउनुभयो । पुरोहित राजोपाध्ययका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कण्डमुललाई सबै भन्दा पहिलो भोजनको रुपमा ग्रहण गरेका थिए । त्यसपछि अन्नपात उब्जनी गर्न थाल्यो । त्यतीबेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवानको मठमन्दिरको विकास भएको थिएन ।
उहाँले भन्नुभयो, “मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवानको आकृति कोरेपछि बिस्तारै यसको विकसित रुप विभिन्न मठमन्दिरहरुको निर्माण हुन थाल्योे । त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाबजीको भगवानको आकृति बनाएर त्यसलाई पुजा गरी कण्डमुललाई प्रसादका रुपमा चढाएर खाने प्रचलन थालेको हो ।”
नेवार समुदायमा नसाबजीलाई सकिमना पुन्हीको दिनमा मात्र नभई गणेश चतुर्थीका दिनमा पनि प्रसादको रुपमा चढाई विधिवत रुपमा पुजा गर्ने परम्परा रहेको छ । साथै गुफा राख्दा गुफा बसेका बालिकाहरुलाई सुर्यसँग विवाह गर्ने क्रममा पनि प्रसाद स्वरुप नसाबजी खुवाउन जाने परम्परा रहेको छ । त्यसैगरी नेवार समुदायको जन्म दिनको अवसरमा पनि भुटेको मकै, गहुँ, भटमास लगायतको समिश्रण नसाबजी दान गर्ने प्रचलन रहेको छ ।