महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखीकरण

भक्तपुर, मंसिर १९
मध्यपुर थिमि नगरपालिकाले महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई परिवार नियोजन, परिवार योजना र प्रजनन स्वास्थ्यबारेमा अभिमुखीकरण गरेको छ । नगरपालिकाको जनस्वास्थ्य कार्यालयले २२ औं राष्ट्रिय महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा शुक्रवार उक्त एक दिने अभिमुखीकरण गरेको हो ।
अभिमुखीकरणमा स्वयम्सेविकाहरुलाई पोषण, परिवार नियोजन, मातृशिशु स्वास्थ्य, किशोर किशोरी स्वास्थ्य, बाँझोेपन, प्रजननमा रुग्णताको अवस्था, आईभिएफ प्रविधि, गर्भनिरोधकका साधनहरु, आईयुटी तथा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका सम्वन्धि पुर्नताजगीकरण गरिएको मध्यपुर थिमि नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी महिला स्वय्सेविकाहरुलाई तृष्णा लिम्बूले अभिमुखीकरण गर्नुभएको हो ।
यसैबीच २२ औं राष्ट्रिय महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा मध्यपुर थिमि नगरपालिकाले नगरका महिला स्वास्थ्य स्वय्मसेविकाहरुलाई सम्मान गरेको छ । नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई दैनिकरुपमा उपयोग हुने सामग्री प्रदान गर्नुका साथै सम्मानपत्रले सम्मान गरेको हो ।


स्वय्मसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप सम्मान गरिएको प्रजापतिले बताउनुभयो । “खोप, पोलियो र भिटामिन ए, गर्भवती महिलाहरुको स्वास्थ्य जाँच, शिशुहरुको नियमित खोपलगायतका स्वास्थ्य कार्यक्रम सफल बनाउन महिला स्वास्थ्य स्वय्मसेविकाहरुको ठूलो योगदान छ । सोही योगदानको कदरस्वरुप दिवसको अवसरमा सम्मान गरिएको हो,” उहाँले भन्नुभयो ।
स्वय्मसेविकाहरुलाई सम्मान गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले महिला स्वयम्सेविकाहरुको क्षमता अभिबृद्धि गर्न र सेवा सुविधा बृद्धि गर्न नगरपालिकाले आवश्यक नीति निर्माण गरी कार्यान्वयन गरिरहेको बताउनुभयो ।
उहाँले सोही नीति अनुरुप नगरपालिकाले सेवा निर्वृत्त स्वयम्सेविकाहरुलाई सम्मान स्वरुप एक लाख रुपैंया प्रदान गरिएको जानकारी दिँदैं नगरपालिकाको स्रोतबाट अन्य सेवा सुविधा थप गरिएको बताउनुभयो ।


नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले स्वास्थ्य क्षेत्रको गरेको प्रगतिमा महिला स्वास्थ्य स्वय्सेविकाहरुको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले सिमित स्रोतसाधनका बाबजुद नगरपालिकाले स्वय्मसेविकाहरुलाई सरकारले प्रदान गरेको सेवा सुविधामा नगरपालिकाले थप योगदान गरिरहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले महिला स्वास्थ्य स्वयम्सेविकाहरुको सेवा विश्वमा नै उदाहरणीय कार्य भएकोले अन्तराष्ट्रिय क्षेत्रले पनि सम्मान गरेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देशभर रहेका ५२ हजार स्वय्मसेविकाहरुको योगदानले नै नेपालले मातृ तथा शिशुको स्वास्थ्य, खोप कार्यक्रम र परिवार नियोजनको क्षेत्रमा उल्लेख्य प्रगती गर्न सफल भएको बताउनुभयो ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एव्म वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले महिला स्वास्थ्य स्वयम्सेविकाहरु सरकार स्वास्थ्य कार्यक्रम जनताको घरदैलोसम्म पुर्याउने सेवकहरु भएको बताउँदै आफ्नो कर्मप्रति गौरव गर्नुपर्नेमा जोड दिनुभयो ।