भक्तपुर, मंसिर १८
मध्यपुर थिमि नगरपालिकाले नगरबासीको घरदैलोमा एआइ एक्स–रे सहितको छाती रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले ‘म स्वस्थ, मेरो समुदाय स्वस्थ, घर टोलमा स्वास्थ प्रबद्र्धन कार्यक्रम’ अन्तर्गत शिविर सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाको जनस्वास्थ्य शाखाले यहि मंसिर २१, २२ र २३ गते यो स्वास्थ शिविर नगरका विभिन्न वडाहरुमा सञ्चालन गर्न लागेको जनाएको छ । शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रीकृष्ण प्रजापतिका अनुसार एक्स–रे सहितको छाती रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर यहि मंसिर महिनाको २१ गते आइतबार वडा न २ को शहरी स्वास्थ्य केन्द्र जातिगालमा हुनेछ ।
त्यस्तै मंसिर, २२ गते सोमबार वडा न ५ को शहरी स्वास्थ्य केन्द्र भुँलाखेलमा र मंसिर २३ गते मङ्गलबार वडा न ९ को बोडे स्वास्थ्य चौकी बोदेमा सञ्चालन हुनेछ ।
स्वास्थ शिविर बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन हुने प्रजापतिले बताउनुभयो । शिविर नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको प्राविधिक सहकार्यमा आयोजना हुने उहाँले बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाले नगरवासीहरुलाई सर्वसुलभ रुपमा स्वास्थ सेवा प्रदान गर्न हरेक महिनाको दुई दिन प्रत्येक वडामा ६० वर्ष माथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण, वडा नं. ७ नगदेशबाट होमियोप्याथी सेवा, वडा नं. १ लोकन्थलीबाट आयुर्वेदिक उपचार सेवा र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमार्फत गुणस्तरीय स्वास्थ सेवा प्रदान गर्दै आइरहेको प्रजापतिले बताउनुभयो ।





