मौलिक पर्व यःमरी पुन्ही मनाईंदै नेवार समुदाय

लक्ष्मी गारु, भक्तपुर, मंसिर १८
नेवार समूदायले मनाईने चाडपर्वहरु मध्ये प्रमुख मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमाको अवसरमा विहिबार धुमधामले मनाईंदैछ । नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।
नेवार समुदायमा कृषि सम्बन्धी धेरै चाड पर्वहरु मनाउने गर्दछन । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले खाने पकवानको नामबाटै चाडपर्वलाई परिचित गराएका छन । मार्ग शुक्ल पुर्णिमाको दिन मनाईने यःमरी पुन्ही एउटा यस्तो पर्व हो, जसको नाम स्वादिष्ट पकवान यःमरीबाट विश्वप्रख्यात छ ।
“विशेषगरी चामलको पिठोबाट बनाईने पकवान यःमरी खाने पुर्णिमाको दिन मनाईने भएकाले यसपर्वको नाम यःमरी पुन्ही रहन गएको हो,” सँस्कृतिकर्मी हरिशरण राजोपाध्यले भन्नुभयो । कृषि कर्म गर्नेहरुका लागि यो पुर्णिमा ठूलो पर्व मानिन्छ । यसदिन पुर्वी पहाडी जिल्लाका किराँत समूदायले उभौली पर्व मनाउँछन भने उपत्यकाका ज्यापु समुदायले ज्यापु दिवसका रूपमा मनाउने गर्दछन् । यस्तै खसआर्य समूदायले यसदिनमा कुल पुजा, देवाली पुजा गर्ने प्रचलन रहेको छ ।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।
नयाँ धान भित्रार्याएको खुशीयालीमा मनाउने यो चाडमा भर्खरै भित्रार्याएको धानको चामलबाटै यःमरी बनाई नयाँ धान राखिएको भकारी एवं भण्डारमा यःमरीसँगै लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।
धानका भकारी र अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी प्रसन्न भई घर अन्नले भरिपूर्ण हुनुकासाथै धनलाभ हुने जनविस्वास रही आएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा विहे भएका छोरीचेलीहरुलाई बोलाएर परिवारसँगै बाँडेर खाने चलन रहेको छ ।


यःमरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन रहेको छ । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ । यःमरी माग्दा
त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यःमरी छगः ति यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा
अर्थात चार माना, दुई माना अट्ने भाँडामा देऊ, यो सालको बाली भित्रियो यःमरी एउटा देऊ, यःमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, यःमरी मिठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी ।
उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु त्यो भाका गाउँदैं यःमरी माग्न जान छाडेका छन । युवावर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोकसंस्कृतिबाट विमुख हुँदैं जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदैं गएको सँस्कृतिकर्मीहरु बताउँछन ।
यःमरी नयाँ धानको चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुनेगरी मुछिएपछि हावाबाट बचाउन सफा कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्नेका साथै यःमरी फुट्छ ।
त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ । तल्लो भागमा खोक्रो ठाउँ बन्छ । खोक्रो भागमा तिल र चाकुको मिश्रण राखेर बन्द गरी यःमरी तयार गरिन्छ । पछिल्लो समय यःमरीमा खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामाग्री राखी पकाउने चलन छ ।
यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले पकाईन्छ । करिव १० मिनेट जति वफाएपछि यःमरी तयार हुन्छ ।
पानीको वाफबाट पकाईने यो पकवान निक्कै स्वादिलो हुन्छ । त्यसैले यो सबैलाई मन पर्दछ । सबैलाई मन पर्ने रोटी भएकोले नै यसको नाम यःमरी अर्थात मनपर्ने रोटी रहन गएको ईतिहास तथा सँस्कृतिविद प्रा. डा. पुर्षोत्तमलोचन श्रेष्ठ बताउँछन । पछिल्लो समय यःमारी मःमः पकाउने भाँडोमा पकाउने चलन छ ।
नेवार समुदायमा यःमरीको साँस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धनसम्पत्ति बृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हीका दिन सबैले यःमरीसहित विभिन्न देवी देवताको पूजा गरी दान गरिन्छ ।
विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवान हो । यःमरी मठमन्दिर, बालबालिकाको दुई र चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा.डा श्रेष्ठले बताउनुभयो । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ,” श्रेष्ठले भन्नुभयो ।
त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समय अघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा १ सय ८ वटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा अनि मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर लडुसँगै यःमरी खसाल्ने चलन छ ।
वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाईन्छ । जाडो महिनामा मनाईने यःमरी पुन्हीमा पकाईने पक्वान यःमरीमा रहेको चाकु र तिलले शरिरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।
यस पुर्णिमाका रातलाई सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाईन्छ । यस पुर्णिमाको भोलि पल्ट देखि यःमरीको चुच्चो जत्तिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास रहेको छ ।
धार्मिक कथन अनुसार तत्कालिन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पति पत्नी दुवैले गरिवहरूप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पति पत्नीको एक पटक परीक्षा गर्नुप¥यो भन्दै गरिवको भेष धारण गरी सुचन्द्रको घर आँगनमा माग्न गएछन् । गरिव रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पत्तिले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मिठो मिठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिवरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केही बेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि यःमरी बनाउने विधि सिकाई बफाउने तामाको भाडा समेत दिई अन्तघ्र्यान भएछन् ।
कुबेरले सिकाएबमोजिम सुचन्द दम्पत्तीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा ४ दिन सम्म पूजा गरेछन् । यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यत्ति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।
यो चाड बौद्ध मार्गीहरूले पनि मनाउँदै आएका छन् । बौद्ध मार्गीहरूले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दू मार्गी नेवारहरूले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन ।