भक्तपुर, मंसिर १६
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतवारसम्म १९ खेल सम्पन्न भएका छन । जसमा २० अर्धशतक र एक शतकको किर्तिमान बनेको छ ।
जारी एनपिएलमा एक मात्र शतक प्रहार गर्ने खेलाडी कर्णालीका विदेशी खेलाडी मार्क वाट हुन । उनले लुम्बिनीविरुद्ध ११४ रनको अविजित इनिङ खेलेका थिए । उनले ४१ बलमै शतक पूरा गरेका हुन । उनी एनपिएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याटर समेत बनेका छन ।
वाट एकै इनिङमा सबैभन्दा धेरै रन बनाउने ब्याटरसमेत बने । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले शतक बनाएका थिए । गत वर्ष लुम्बिनीविरुद्ध नै गौसले १०४ रनको शतकीय इनिङ खेलेका थिए । यस क्रममा गौसले ५४ बलमा शतक बनाएका थिए ।
एनपिएलको जारी सिजनमा प्रहार भएका १९ अर्धशतकमध्ये ६ अर्धशतक नेपाली खेलाडीको नाममा छ । बाँकी सबै विदेशी खेलाडीको नाममा छन् । अर्धशतक प्रहार गर्ने नेपाली खेलाडीहरुमा कुशल भुर्तेल दुई पटक, बसिर अहमद, लोकेश बम, आसिफ शेख, इशान पाण्डे र विनोद भण्डारीले एक÷एक पटक अर्धशतक प्रहार गरेका छन ।
जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सका चार, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्सका तीन÷तीन र विराटनगर किंसका दुई खेलाडीले अर्धशतक प्रहार गरेका छन् । यस्तै, कर्णाली याक्स, चितवन राइनोज र काठमाण्डुका एक÷एक खेलाडी रहेका छन् ।
व्यक्तिगत रूपमा सबैभन्दा बढी चितवनका विदेशी खेलाडी रवी बोपराले तीन अर्धशतक पूरा गरेका छन् । यस्तै, पोखराका कप्तान तथा नेपाली क्रिकेट टोलीका ‘ओपनर ब्याटर’समेत रहेका कुशल भुर्तेल र कर्णाली याक्सका विदेशी खेलाडी प्रियांक पञ्चालले दुई अर्धशतक पार गरेका छन् ।
सुदूरपश्चिम टोलीका लागि नेपाली खेलाडी विनोद भण्डारी र इशान पाण्डे, विदेशी खेलाडीद्वय हर्मित सिंह, जोश ब्राउन, जनकपुरमा आबद्ध नेपाली खेलाडी आसिफ शेख, विदेशी खेलाडी वायन पार्नेल र सञ्जय कृष्णमुर्ती, विराटनगर किंग्सका नेपाली खेलाडी लोकेश बम, विदेशी खेलाडी मार्टिन गुप्टिल र वसिर अहमद, काठमाण्डु गोर्खाजका विदेशी खेलाडी जोन सिम्पसन र पोखराका विदेशी खेलाडी एडम रोसिङटनले एक÷एक अर्धशतक प्रहार गरेका छन् ।





