भक्तपुर, मंसिर १२
मध्यपुर थिमि नगरपालिका वडा नं. ३ लागं (गठ्ठाघर)मा आजदेखी दुई दिने यःमरी ची नखः (मिनी महोत्सव) हुने भएको छ । नेवारी परिकार यःमरीको प्रवद्र्धन र यःमरी पर्वको महत्व दर्शाउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
लागं द्धक पुचःको आयोजना हुने यःमरी ची नखःमा यःमरीका साथै नेवारी खाजा सेट समेबजी, वः (बारा), चटामरीलगायतका परिकार पनि पाईने भक्तपुर चेम्बर्स अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठले बताउनुभयो ।
ची नखः गठ्ठाघर चोकदेखी २० मिटर दक्षिण सानो थिमि जाने सडक किनारमा हुने उहाँले जानकारी दिनुभयो ।
नेवारी समूदायले विशेष महत्वका साथ मनाईने यःमरी पुर्णिमा यसवर्ष मंसिर १८ गते बिहिवार परेको छ । मंसिर शुक्ल पुर्णिमा अर्थात धान्य पुर्णिमाका दिन नेवार समूदायले विशेष प्रकारको परिकार यःमरी खाने भएकोले उक्त पर्वलाइ यःमरी पुन्ही भनिएको हो ।
नेवारी समूदायमा यःमरीको विशेष महत्व रहेको छ । यो परिवार एउटा पकवान मात्र नभएर नेवारी धर्म सँस्कृतिमा विशेष महत्वको परिकार हो । विशेष गरी यो परिकार जन्मोत्सवलगायतका विशेष अवसरमा नभई नहुने परिकार हो ।
यो परिकार अति स्वादिलो हुने भएकोले स्वास्थ्यबर्धक पनि रहेको छ । चामलको पिठो र चाकुबाट बनाउने यो परिकार अचेल खुवा, मासु राखेर पनि बनाईन्छ । तातो पानीको वाफबाट बफाएर तयार हुने यो परिवार तयार गरिन्छ ।





