भक्तपुरको नवदुर्गा देवगण मंसिर १८ गतेदेखी एक साता थिमिमा रहने

भक्तपुर, मंसिर ११
भक्तपुरको धार्मिक एवम् ऐतिहासिक महत्वको नवदुर्गा देवगण यही मंसिर १८ गतेदेखी एक हप्ता मध्यपुर थिमिमा रहने भएको छ । नवदुर्गा देवगणको परम्परा अनुसार विभिन्न शहरमा गएर जात्रा गर्नुपर्ने भएकाले यःमरी पुन्ही अर्थात धान्य पुर्णिमाको दिन मध्यपुर थिमि आउने भएको हो ।
भक्तपुरको नवदुर्गा देवगण भक्तपुर नगरबाहिर काठमाण्डौं, काभ्रे, थिमिका विभिन्न स्थान र शहरमा नाच प्रदर्शन गर्दै जात्रा सञ्चालन गर्ने परम्परा अनुसार यःमरी पुर्णिमाको दिन मध्यपुर थिमि आउने परम्परा रहेको छ । सोही अनुसार नवदुर्गा देवगण थिमि आउन लागेको हो ।
नवदुर्गा देवगणले एक सातासम्म मध्यपुर थिमिका विभिन्न स्थान टोलमा नाच प्रदर्शन गर्नुका साथै स्थानीयको पुजा थाप्ने गरिन्छ । नवदुर्गा देवगण मंसिर १८ गते दिउँसो मध्यपुर थिमिको दथुटोल प्रवेश गर्ने कार्यक्रम रहेको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।


देवगण मध्यपुर थिमि–४ बालकुमारी परिसरमा रहेको द्योछें (देवघर)मा बास बस्नेछ । त्यसपछि मंसिर १९ गते नवदुर्गा देजगणले चपाचोमा पोमाः द्यो जात्रा सञ्चालन गर्छ । २० गते भुलाँखेलमा पोमाः द्यो जात्रा र लाय्कुमा गःछी नाच प्रदर्शन गर्छ ।
यसैगरी २१ गते दथुटोलमा गःछी नाच, २२ गते नगदेश र बोदेमा पोमाः जात्रा गर्छन भने २३ गते सूर्यविनायक नगरपालिका वडा नं. ४ चित्रपुरमा नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नवदुर्गा देवगणले २३ गते नै थिमिको वप्पा र मरुटोलमा नाच प्रदर्शन गर्छन । मंसिर २४ गते बालकुमारी देखी लाय्कुसम्म नवदुर्गा देवगणले बाराही नाच, सिम्हादुम्हा प्रवेश, सिम्हादुम्हा ङालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव ङालाकेगु नाच प्रदशृन पछि आरती गरी जात्रा समापन गरी नवदुर्गा देवगण भक्तपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । लक्ष्मी गारु