चालु आ.व.को पहिलो चौमासिकमा मध्यपुर थिमि नगरपालिकाको राजश्व संकलन सवा १४ करोड

भक्तपुर, मंसिर १०
मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सवा १४ करोड रुपैंया भन्दा बढी राजश्व संकलन गरेको छ । नगरपालिकाको १ देखी ९ नम्बर वडा कार्यालय र नगरपालिकाको राजश्व शाखामा गरी कुल १० वटा संकलन केन्द्रबाट मध्यपुर थिमिले गत साउनदेखी कार्तिक मसान्तसम्म १४ करोड २४ लाख ५१ हजार ६८३ रुपैंया राजश्व संकलन गरेको हो ।
नगरपालिकाको यो आम्दानी चालु आ.व.को अनुमानित आन्तरिक आयको एक तिहाई भन्दा बढी हो । मध्यपुर थिमिले यो वर्ष ३७ करोड २४ लाख ५७ हजार ९ सय रुपैंया आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ ।
गत आर्थिक वर्ष २०८१÷०८२ मा मध्यपुर थिमिले २७ करोड १७ लाख ५८ हजार ५८४ रुपैंया आन्तरिक आम्दानी गरेको थियो ।
मध्यपुर थिमि नगरपालिकाले चालु आ.व.को पहिलो चार महिनामा सबैभन्दा धेरै सम्पत्ति करबाट राजश्व संकलन गरेको छ । राजश्व शाखाका अनुसार सम्पत्ति करबाट ४ करोड ५७ लाख ८४ हजार ८९ रुपैया संकलन भएको छ ।
यसैगरी घरबहाल कर ३ करोड ५१ लाख ६८ हजार ७८५, नक्सापास दस्तुर एक करोड ९० लाख २१ हजार ५२८, व्यवसाय कर एक करोड १६ लाख ३५ हजार ८१० रुपैंया संकलन भएको नगरपालिकाको राजश्व शाखाका प्रमुख रविन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्य सेवा शुल्क र बिक्रिबाट ९२ लाख एक हजार ८८२, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ६७ लाख ४ हजार ५ सय, अन्य दस्तुरबाट २४ लाख ३२ हजार २३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर ४३ लाख ८३ हजार ४९२, व्यवसाय रजिष्ट्रेशन दस्तुर २३ लाख ९० हजार, अन्य मनोरञ्जन कर १९ लाख ८४ हजार ८७० र सिफारिश दस्तुर २३ लाख १८ हजार २२९ रुपैंया संकलन भएको छ ।
नगरपालिकाको ९ वटा वडा कार्यालय र राजश्व शाखा गरी कुल १० वटा संकलन केन्द्र मध्ये सबैभन्दा धेरै राजश्व शाखाले ४ करोड ५ लाख ५० हजार २३८ रुपैंया संकलन गरेको श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयहरु मध्ये सबैभन्दा धेरै वडा नं. ३ ले राजश्व संकलन गरेको छ । ३ नं. वडा कार्यालयले पहिलो चौमासिकका २ करोड २० लाख १७ हजार ४६२ रुपैंया राजश्व संकलन गरेको श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी वडा नंं ५ ले एक करोड ९५ लाख २५ हजार ५३, वडा नं. १ ले एक करोड ५३ लाख ३० हजार ७६६, वडा नं. ४ ले एक करोड ११ लाख ३४ हजार ८३५, वडा नं. २ ले एक करोड २ लाख ७९ हजार एक सय रुपैंया राजश्व संकलन गरेको छ ।
वडा कार्यालयहरु मध्ये सबैभन्दा कम वडा नं. ७ ले चालु आ.व.को पहिलो चार महिनामा जम्मा ३२ लाख ९० हजार ७३६ रुपैंया मात्र राजश्व संकलन गरेको छ । यसैगरी वडा नं. ८ ले ४४ लाख ६२ हजार ३४१, वडा नं. ९ ले ७८ लाख ५९ हजार ७२३ र वडा नं. ६ ले ८० लाख एक हजार ३९४ रुपैंया राजश्व संकलन गरेको श्रेष्ठले बताउनुभयो ।
मध्यपुर थिमि नगरपालिकाले कर संकलनसँगैं करदातालाई विभिन्न सेवा सुविधा समेत प्रदान गर्दै आइरहेको छ । नगरबासीलाई घरबहाल कर तिर्न अभिप्रेरित गर्ने उद्देश्यले मध्यपुर थिमिले आवासीय प्रयोजनको घरबहाल कर ५ प्रतिशत कायम गरिएको राजश्व शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । व्यवसायिक प्रयोजनको घरबहाल कर भने १० प्रतिशत नै कायम छ ।
यसैगरी नगरपालिकाले असोज मसान्तसम्म कर तिरे १० प्रतिशत छुट दिएको थियो । सो कारण पनि पहिलो चौमासिकमा लक्ष्यको एक तिहाइ भन्दा बढी राजश्व संकलन भएको श्रेष्ठले बताउनुभयो ।
नगरबासीलाई समयमा कर तिर्न अभिप्रेरित गर्न मोवाइल एसएमएस मार्फत सचेत पार्ने गरिएको उहाँले बताउनुभयो । यसैगरी उत्कृष्ट करदातालाई नगरपालिकाको स्थापना दिवसको अवसरमा सम्मान गर्ने गरिएको छ ।