उद्योग दिवसको अवसरमा उत्कृष्ट उद्यमीहरु सम्मानित

भक्तपुर, मंसिर ९
एघारौं उद्योग दिवसको अवसरमा मंगलवार उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरले उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरेको छ । कार्यालयले जी.के पोल्ट्री फार्मका शिशिर किसी, गुण सेरामिक्स उद्योगका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई फुलमाला र सम्मान पत्रबाट सम्मान गरेको हो ।
उद्योगीहरुलाई सम्मान गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु तथा साना उद्योगहरुले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो । उहाँले विदेशी सामान आयातले घरेलु उद्योगहरुमा प्रत्यक्ष असर परिरहेको बताउँदै नगरबासीहरुलाई आत्मनिर्भर बनाउन भक्तपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभयो ।
अन्तरिम सरकारले भ्रष्टाचारीलाई कारबाही र प्रतिनिधिसभाको चुनाव शान्तिपूर्ण, मर्यादित र धाँधलीरहित तरीकाले सम्पन्न गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँदै उहाँले सार्वजनिक संस्थानहरूलाई कम्पनीमा लाने नीतिगत निर्णय गरी देशको अर्थतन्त्रमा दीर्घकालीन असर पुग्ने काम भएको स्पष्ट पार्नुभयो ।
घरेलु सामानहरुको ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले बेरोजगार र आर्थिक रुपले कमजोर तथा विपन्न युवाहरुलाई युवा उद्यमशीलता प्रवद्र्धन ऋणको व्यवस्था गर्दै आएको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले उद्योग दिवसको अवसरमा गरिएको उद्यमी सम्मानले उद्यमीहरुलाई थप हौसला प्रदान गर्ने बताउँदै संघले गो लोकल कार्यक्रम सञ्चालन गरी भक्तपुरका १५ वटा वस्तुहरुको उत्पादनलाई सूचिकृत गरी प्रवद्र्धन गर्दै आएको बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीकुमारी श्रेष्ठले नेपाल सरकारले उद्यमीहरुको लागि प्रोत्साहनस्वरुप स्टार्ट अप उद्यम कर्जा र महिला उद्यमीको लागि विना धितो कर्जा उपलब्ध गराइरहेको बताउँदै देशलाई आत्मनिर्भर बनाउन नयाँ नयाँ उद्योगहरु सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर च्याम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले लोपोन्मुख भक्तपुरका पेशा व्यवसायलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदैं स्थानीय स्तरमा रोजगारी अभिवृद्धि हुने किसिमका गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सम्मानित उद्योगीहरुलाई बधाई ज्ञापन गर्दै कार्यालयले उद्यमीहरुलाई लक्षित नीति नियम बनाउनुका साथै विभिन्न सीपमुलक तालिमहरु सञ्चालनमा जोड दिँदै आएको जानकारी गराउनुभयो ।