भक्तपुर, मंसिर ८
नेपाल प्रिमियर लिग (एनपिएल)मा अनलाइन सट्टेबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत आन्द्रप्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाण्डौँ महानगरपालिका–२६ सामाखुशी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका छन् ।
उनीहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौंको बल्खुबाट पक्राउ गरेको हो ।
उनीहरूले अनलाइन बेटिङ साइटमार्फत हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजिकुमार आचार्यले बताउनुभयो ।
उनीहरूको साथबाट १५ थान मोबाइल बरामद गरी त्यसबाट प्रविधियुक्त अनुसन्धान गरिएको पनि प्रहरीले जनाइको छ । थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्दा बेटिङको बल बाई बलको अग्रिम सूचना दिन भारतबाट काठमाण्डौं आएको खुलेको छ । एसपी आचार्यले पक्राउ परेका भारतीयले हरेक बलको अग्रिम सूचना दिने गरेको बताउनुभयो । “यो समूहले अनलाइनमार्फत बेटिङ खेलाउने गरेको छ । हरेक बलमा उनीहरुले बेटिङ खेलाउँछन् ।”
भारतमै बसेर यो समूहका व्यक्तिले बेटिङ खेलाउने गरेका छन् । क्रिकेट रंगशालामा भइरहेको खेलको लाइभ क्रिकइन्फो तथा टेलिभजनमा केही मिनेट ढिलो हुन्छ । तत्कालै मैदानको हरेक बलको जानकारी लाइभभन्दा अगाडि नै दिन यो समूह काठमाण्डौं आएको खुलेको छ ।
“टीभीको लाइभ फिल्डको लाइभ भन्दा केही ढिलो हुने भएकाले यो समूहले त्यो भन्दा अगाडि नै च्याटमार्फत हरेक बलको जानकारी बेटिङ समूहलाई गराउने र त्यही अनुसार भारतमा रहेको गिरोहले बेटिङ खेलाउने गरेको देखिन्छ,” एसपी आचार्यले भन्नुभयो ।
हरेक बलमा हुने छक्का, चौकादेखि रन आउट, बोल्डलगायत सबैको जानकारी टिभी लाइभको भन्दा अगाडि नै यो समूहले त्रिविस्थित क्रिकेट रंगशालामा बसेर जानकारी गराउने र त्यही अनुसार बेटिङ गिरोहले बेटिङ खेलाउने गरेको प्रहरीले बताएको छ ।
खेल हेर्न भनेर टिकट काटेर रंगशाला छिरेका उनीहरुले खेल अवधिभर मोबाइलमा व्यस्त भएपछि प्रहरीले निगरानी बढाएको थियो । त्यसपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हरेक बलको बल बाई बल अग्रिम जानकारी गराउन उनीहरु काठमाण्डौं आएको खुलेको हो ।
यसअघि अपराध अनुसन्धान कार्यालयले खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूमाथि पनि अनुसन्धान जारी छ ।





