भक्तपुर, मंसिर ३
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्तरुपमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपबाट जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, बेल्जियम, स्पेन र स्विटजरल्याण्ड छनोट भएका छन ।
फिफा विश्वकप २०२६ को छनोट खेलहरुमा जित निकाल्दै जर्मनी, नेदरल्याण्ड्स, नर्वे, पोर्चुगल, बेल्जियम, स्पेन र स्विटजरल्याण्ड छनोट भएका हुन ।
विश्वकपमा स्थान बनाउन जर्मनीले स्लोभाकियालाई ६–० ले पराजित ग¥यो । निक वोल्टेमाडेले खेलको सुरुमै हेडमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । त्यसपछि सेर्ज ग्नाब्री, लेरोय सानेले २ गोल गरेपछि जर्मनीले पहिलो हाफमा ४–० अगाडि रह्यो ।
दोस्रो हाफमा रिड्ले बाकु र असान उएद्राओगोले गोल गरेपछि जर्मनीले ६–० जित दर्ता गरायो । उएद्राओगोले त आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेको दुई मिनेटमै गोल गरेका थिए ।
नेदरल्याण्ड्स अर्को वर्ष हुने फिफा विश्वकपका लागि छनोट हुने क्रममा लिथुआनियालाई ४–० ले हराए । अपराजित नेदरल्याण्ड्सका लागि टिज्जानी रेजिन्डर्सले १६औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । कोडी गाक्पोले ५८ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे ।
जबी सिमोन्सले ६० औं मिनेटमा टोलीको लागि तेस्रो गोल गरे । डोनेल मालेनले एकल प्रयासमा ६२ औं मिनेटमा गोल गर्दै अन्तर बढाए ।
समूह जीको दोस्रो स्थानमा रहेको पोल्यान्डले माल्टाविरुद्ध ३–२ को अवे जित निकाल्यो । पोल्याण्डले अब प्ले अफ खेल्नुपर्ने छ ।
अर्को खेलमा जित निकाल्दै नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ । एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि इटालीलाई ४–१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का ग¥यो ।
खेलमा अग्रता भने इटालीले लिइएको थियो । ११औँ मिनेटमा पियो एस्पोसिटोले फेडेरिको डिमार्कोको पासमा गोल गर्दै इटालीलाई अघि बढाए । त्यसपछि इटालीले धेरै आक्रमण गरे तर पहिलो हाफमा अर्को गोल भएन ।
दोस्रो हाफ नर्वे र हालान्डकै नाममा रह्यो । एन्तोनियो नुसाले ६३ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । त्यसपछि सहखेलाडी ओस्कर बोब्बको क्रसमा हालान्डले ७८ औं मिनेटमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए ।
हालान्डले ७९ औं मिनेटमा दोस्रो गोल पनि गरे । योसँगै उनले विश्व कप छनोटका ८ खेलमा १६ गोल गरेका छन् । इन्ज्युरी समयमा जोर्गेन स्ट्रान्ड लार्सेनले पनि गोल गर्दै नर्वेको जिते पक्का गरे ।

नर्वेले विश्वकप छनोट पार गरेसँगै हालान्डले आफ्ना बुवा अल्फ इंगे हालान्डको पाइला पछ्याउनेछन् । उनका बुवाले १९९८ को विश्वकपमा नर्वेको प्रतिनिधित्व गरेका थिए ।
इटाली फेरि प्लेअफमा खेल्न बाध्य भएको छ । पछिल्ला दुई संस्करणमा इटाली प्ले अफ मै रोकिएको थियो । सन् २०१८ विश्वकप छनोटमा स्विडेनसँग १–० र २०२२ नर्थ म्यासेडोनियासँग १–० को हारसँगै इटाली विश्व कप पुग्न सकेको थिएन ।
यसैगरी पोर्चुगल आर्मेनियालाई ९–१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ । पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे ।
अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएको पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आर्मेनियालाई जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आर्मेनियाविरुद्धको खेलमा खेल्न पाएनन् ।
खेलको सुरुवातमै रेनोटो भेइगाले फ्रि–किकबाट हेडिङ गर्दै गोल गरे । आर्मेनियाले १८औँ मिनेटमा बराबरी गोल गरे पनि त्यसपछि खेल पुरै पोर्चुगलको नियन्त्रणमा रह्यो ।
गोनसलो रामोस, नेभेस र फर्नान्डेसले गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ५–१ को अग्रता बनायो । दोस्रो हाफमा फर्नान्डेसले अर्को गोल र पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे। नेभेसले पनि आफ्नो तेस्रो गोल पूरा गरे ।
अन्तिम क्षणमा फ्रान्सिस्को कोन्सेइसाओले गोल गरेपछि खेल ९–१ मा समाप्त भयो र
यस्तै युरोपियन छनोटको अन्तिम दिन बेल्जियमले लिक्टेनस्टाइनलाई ७–० को एकतर्फी जित निकाल्दै २०२६ विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । समूह ‘जे’ को शीर्ष स्थान हासिल गर्न बेल्जियमले जित आवश्यक थियो । लिक्टेनस्टाइनमाथि जित निकाल्दै बेल्जियमले लगातार चौथो विश्वकप यात्रा सुनिश्चित ग¥यो ।
चाल्र्स डे किटेलाएर र जेरेमी डोकु दुवैले दुई–दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाए ।
उता वेल्सले दोस्रो स्थान हात पारेको छ । वेल्सले घरेलु मैदानमा नर्थ म्यासेडोनियालाई ७–१ ले पाखा लगायो । वेल्सको जितमा ह्यारी विल्सनले ह्याट्रिक गरे । नर्थ म्यासेडोनियालाई मात्र बराबरी नै पर्याप्त हुने स्थिति थियो । तर, वेल्सको आक्रामक खेलका अगाडि टिक्न सकेनन् । दुवै टोलीले पहिले नै नेसन्स लिगमार्फत प्लेअफको सुनिश्चितता गरिसकेका थिए ।
पुर्व विश्वविजेता स्पेन पनि ३१ खेलसम्म अपराजित रहँदै छनोट भएको छ । मिकेल ओयार्जाबालले ६२औं मिनेटमा बराबरी गोल गरेपछि स्पेनले विश्वकप छनोटमा टर्कीसँग २–२ को बराबरी खेलेको छ ।
योसँगै युरोपमा आफ्नो प्रभावशाली अपराजित यात्रा ३१ खेलसम्म लम्बाएको छ । युइएफए र स्पेनिस फुटबल महासंघका अनुसार यो श्रृंखला २०२३ मा नेसन्स लिग सेमिफाइनलमा इटालीविरुद्धबाट सुरु भएको हो ।
इटालीको पुरानो कीर्तिमान २०१८ देखि २०२१ बीच ३७ खेल अपराजित रहेको थियो । यसको अन्त्य नेसन्स लिग फाइनलमा स्पेनसँगै २–१ को हारसँगै भएको थियो ।
सेभिल्लामा भएको खेलमा स्पेनलाई समूहको शीर्ष स्थान गुमाउन सात गोलको फरकले हार्नु पर्ने थियो, जुन असम्भवजस्तै थियो । टर्की समूहको दोस्रो स्थानमा रहेर अन्तिम ९० मिनेटमा भिडेको थियो ।
खेलको सुरुवातमै स्पेनले राम्रो ताल देखायो । डानी ओल्मोले चौथो मिनेटमै गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
तर, टर्की जवाफी खेल देखाउँदै बराबरीमा फर्कियो र दोस्रो गोल गर्दै खेल पल्टायो पनि । ओयार्जाबालको ६२औं मिनेटको कम्पनीले भने स्पेनलाई पराजयबाट बचायो ।
यसैगरी स्विजरल्यान्डले लगातार छैटौंपल्ट विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । कोसोभोसँग बराबरी खेल्दै टोलीले समूह ‘बी’ विजेता बन्दै २०२६ को विश्वकपको यात्रालाई सुरक्षित बनाएको हो ।
उत्कृष्ट अवस्थासहित मैदान उत्रिएको स्विस टोलीलाई पाँच गोलले हार खानुपरे मात्रै अप्ठ्यारो पथ्र्यो । त्यसैले बराबरीले नै उनीहरूको स्थान पक्का गरिदियो । पहिलोपटक विश्वकप खेल्ने लक्ष्यमा रहेको कोसोभोले पहिले नै दोस्रो स्थान सुनिश्चित गरिसकेको थियो ।
यसै समूहमा नेसन्स लिगमार्फत प्लेअफमा पुगिसकेको स्विडेनले स्लोभेनियासँग १–१ को बराबरी खेल्यो । पहिले नै बाहिरिएका ग्रीस र बेलारुसबीचको खेल गोलरहित बराबरी नतिजामा टुंगियो ।





